अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ


कञ्चनपुर–कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो ।

यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार  हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ । 

प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । “जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।”

यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागुऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ । महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुपर्ने बताउनुहुन्छ ।

“प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ”, उहाँले भन्नुभयो, “यसका लागि सामूहिक प्रयासको खाँचो छ ।”