अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चाहेमा सरकार ढल्छ, कांग्रेससँग छलफल जारी छ  : सचेतक बर्तौला 

एमालेले चाहेमा सरकार ढल्छ, कांग्रेससँग छलफल जारी छ  : सचेतक बर्तौला 


काठमाडौँ–नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ ।

सचेतक बर्तौलाले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनु भयो । उहाँले सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने बताउनुभयो । एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि उहाँले स्पष्ट पार्नुभयो । 

बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताउनुभयो । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेकपा (एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामर्थ्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा९एमाले०ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरू बिचको अन्तर्विरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ ।’

सचेतक बर्तौलाले एमाले र कांग्रेसका नेताहरुबीच सरकार परिवर्तनबारे छलफल भइरहेको पनि बताउनुभयो । उहाँले बजेटमाथिको छलफलपछि सरकार ढल्न सक्ने संकेत गर्नुभएको छ । दुई पार्टीका नेताहरुबीचको छलफलले परिस्थिति राम्रो बन्दै गएको उहाँले बताउनुभयो । समाजवादी मोर्चा बनाएपछि सत्ता गठबन्धनभित्र तीव्र असन्तुष्टि रहेको भन्दै उहाँले मूलकको स्थायित्वका लागि दुई ठूला दलबीच प्रयास भइरहेको बताउनुभयाे ।  

सचेतक बर्तौलाले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनुभयो । यसले देश र जनताको हितमा काम नगर्ने टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आबद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘उहाँहरुको गठबन्धनको सरकार छ । गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरू हिँडिरहनुभएको छ । त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो । यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ । कांग्रेससँग तर्सेको, एमालेसँग डराएको र स्वार्थहरुले भरिपूर्ण भएको उहाँहरुको यो केन्द्र हो । यसको जनताको हितसँग, राष्ट्रको हितसँग सम्बन्ध रहन्छ भन्ने मलाई लाग्दैन । मोर्चाका पार्टीहरुको आ–आफ्ना एजेण्डा छ । संविधानकै कार्यान्वयनकै बारेमा पनि फरक फरक दृष्टिकोण र मान्यता रहेका छन् । त्यस आधारमा उहाँहरुले भूमिका पनि गरिरहनुभएको छ । यो उहाँहरू बीचमा गैडाको प्रेम चटाइ हो । गैँडाले प्रेम गरेर चाट्दा जिउको छाला जान्छ । त्यो चटाइको कुनै अर्थ छैन । यो कुनै संसद्को समग्र प्रक्रियालाई बलियो बनाउन, सरकारको नियमित काम, गतिविधि, क्रियाकलापहरुलाई देश र जनताको हितको पक्षमा उभिएर अगाडी बढाउन यो मोर्चाबन्दी गरिएको छैन । स्वार्थलाई केन्द्रमा राखेर, पद, प्रतिष्ठाभन्दा बाहिर उहाँहरुको अभीष्ट छैन ।’