अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले लुम्बिनीमा ‘न्यू मिडिया’ प्रयोग गर्दै, प्रचार सञ्चालन बिस्तार गरिने 

एमालेले लुम्बिनीमा ‘न्यू मिडिया’ प्रयोग गर्दै, प्रचार सञ्चालन बिस्तार गरिने 


बुटवल-नेकपा एमालेले लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका वडा तहसम्म प्रचार सञ्चालन बिस्तार गर्ने भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागको आयोजनामा शनिबार बुटवलमा बसेको योजना बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा रहेका १०९ वटै पालिका अन्तर्गतका सबै वडाहरुमा प्रचार सञ्जाल बिस्तार गर्नेगरी योजना बनाइएको बैठकमा सहभागी एमाले केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा ३२ नगरपालिका, ७३ गाउँपालिका र ९८३ वडाहरु छन् । सबै स्थानीय तहमा मात्र होइन, वडातहसम्मै प्रचार सञ्जाल निर्माण गरी त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने अर्यालले बताउनुभयो ।

“प्रचारको कामलाई नयाँ र फरक ढंगले अगाडि बढाउन र कार्यकर्ताहरुलाई प्रविधिसँग जोड्दै सही सूचनालाई प्रभावकारी र व्यवस्थित ढंगले पार्टीको प्रचारको कामलाई जनस्तरसम्म पुर्‍याउन वडा तहसम्मै प्रचार सञ्जाल बिस्तार गर्ने निर्णय गरेका छौं”,अर्यालले भन्नुभयो ।

बैठकलाई संबोधन गर्दै अर्यालले अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब जस्ता प्रविधिको बढी प्रयोगमा अभ्यस्त भएको र अव पार्टीका सम्पूर्ण कार्यकर्ता पंक्तिलाई यसतर्फ अभ्यस्त गराउन जरुरी भैसकेको भन्दै पार्टी र मातहतका सबै कमिटीले प्रचारको नयाँ रोडम्याप अनुसार अगाडि बढ्ने गरी योजना बनाइने बताउनुभयो ।

पार्टीका हरेक कमिटीका सूचना आदानप्रदान देखि लिएर सबैखाले गतिविधि, पार्टीले सञ्चालन गरिरहेका अभियानहरु, पार्टी नेतृत्वको सरकार भएका बेलामा गरिएका राम्रा कामहरु र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अगाडि सारेका योजना र सकारात्मक कामलाई जनमानसमा सही ढंगले प्रभाव पार्ने गरी प्रचारलाई केन्द्रित गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

लुम्बिनी प्रदेशको प्रचारको संयोजन गर्ने जिम्मेवारी पाउनु भएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले अव पार्टीका सबै कमिटी सामाजिक सञ्जालमा जोडिनुपर्ने, त्यसको नियमित अपडेट गरिनुपर्ने र सबै कार्यकर्ताले पार्टीले गरेका कामको प्रचारमा फेसबुक, टिकटक, यू ट्युब जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने गरी अघि बढिने जानकारी दिनुभयो ।  

पोलिटब्यूरो सदस्य थापाले स्थानीय स्तरमा पार्टीका विभिन्न कमिटीहरुले कार्यक्रम गरिरहे पनि ती सबैलाई ठूलो समुदायमा पुर्‍याउने काम सामाजिक सञ्जालहरूले गर्ने भएकाले अव प्रचारलाई यसतर्फ केन्द्रित गरिने बताउनु भयो । लुम्बिनी प्रदेशमा पार्टीको संगठन राम्रो भएपनि आम जनसमुदायका माझ पार्टीलाई स्थापित गर्न प्रचार नै महत्त्वपूर्ण पाटो भएको निष्कर्षका सबै वडा तहसम्म पुग्ने निर्णय गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताउनु भयो ।