अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका सभापति चयनबारे सभामुख घिमिरेले शीर्ष नेताहरुसँग छलफल गर्दै 

संसदीय समितिका सभापति चयनबारे सभामुख घिमिरेले शीर्ष नेताहरुसँग छलफल गर्दै 


काठमाडौँ-सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै हुनुहुन्छ ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक-पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाउनुभएको हो ।