अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरकाण्डलाई लक्षित गर्दै जेपी गुप्ताले भन्नुभयो–उपेन्द्र यादव इतिहासकै कठोर घडीमा 

गौरकाण्डलाई लक्षित गर्दै जेपी गुप्ताले भन्नुभयो–उपेन्द्र यादव इतिहासकै कठोर घडीमा 


उपेन्द्र यादव सकसमा छन् अरे । हिजो आज अखबारहरू तथा सामाजिक संजालहरूमा यस्तो कुराहरू आइरहेका छन् । आजभन्दा १७ वर्ष अघि रौतहटको गौर बजारमा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम,नेपालका कार्यकर्ताहरूका बीच हिंस्रक भिडन्त भएको थियो । यसमा कयौँ मानिसहरू मारिएका थिए। वर्षौँ देखि चर्चाबाट हराएको यो विषय अहिले एक्कासी उघ्रेको छ। सरकारले यसको छानबिन हुने बताएपछि यस बारे गम्भीर चर्चा सुरु भएको छ। 

फोरम,नेपाल र माओवादीका बीच ठुलो बैमनस्यता थियो। तर, यो हराएर गयो। कालान्तरमा उपेन्द्रले माओवादी पार्टीलाई,खासगरी प्रचण्डलाई आफ्ना सबैभन्दा भरपर्दो सहयोगी वा मद्दतगार ठाने। हो पनि, प्रचण्डले उपेन्द्रलाई ठुलो गुण पनि लगाएका छन्। यी सबका बाबजुद अहिलेको यो घटनाक्रमले सुन्दैछु उपेन्द्रलाई हल्लाएको छ। भगवान् गरोस् उनलाई केही न होस्। उनी अभेद्य रहुन्। 

तर, केही तथ्यहरू विचारणीय रहेको छ। गौर घटनाको लगतै पछि माओवादीहरूले तत्कालीन फोरमसँग प्रत्यक्ष सम्बन्ध रहेका र अन्य समेत सय बढी मानिसहरूका विरुद्ध छानबिन तथा कारबाहीका लागि जाहेरी निवेदन दिएका थिए। 

यसको जवाफमा फोरमले पनि तत्कालीन माओवादी पार्टीका नेता कार्यकर्ताका विरुद्ध जवाफी जाहेरी दर्ता गराए। 

यस घटनाको लगत्तै पछि केही उल्लेखनीय निकायहरूबाट छानबिन समितिहरू गठन भयो। यसमा महत्त्वपूर्ण हुने । सरकार,गृह मन्त्रालयको समिति। राष्ट्रिय मानव अधिकार आयोगको छानबिन समिति। संयुक्त राष्ट्र संघीय मानव अधिकार सम्द्धव छानबिन समिति। यसका अतिरिक्त फोरम पार्टी, माओवादी पार्टी, अनमिन लगायत कयौँ अर्ध सरकारी, अन्तर्राष्ट्रिय निकाय सम्बद्ध, देशीय मानव अधिकारवादीहरू लगायतबाट दर्जनौं छानबिन समितिहरू बन्यो। सबैले आआफ्नो प्रतिवेदनहरू सार्वजनिक गरे। 

यी सबको बाबजुद लामो समय भयो। यस घटनाका बारेमा कुनै छानबिन तथा कारबाहीहरू थालिएन। सबैपक्ष मौन रहे। यदाकदा कुराहरू उठ्दथ्यो पनि। यसै क्रममा माओवादी पार्टीको तर्फबाट दिइएको जाहेरीमा उल्लेखित नामहरूलाई नै उल्लेख गरेर सर्वोच्च अदालतमा निवेदन दर्ता भयो। स्थानीय निकायले यस घटनामा कुनै कारबाही गरेन । यसर्थ कारबाहीको आदेश दिईयोस भनी माग गरियो। तर, अदालतबाट कुनै आदेश भई नसकेको अवस्था छ। स्मरणीय छ, अफताव आलमको मुद्दामा पनि यस्तै अवस्था थियो। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेको थियो। एकदिन अप्रत्याशित रूपमा सर्वोच्च अदालतले छानबिनका लागि आदेश जारी गर्‍यो र आज अफताव जेलमा छन्। यही परिदृश्यमा गौर काण्ड सेलायो। कसैलाई कुनै वास्ता सरोकार रहेको देखिएन। 

अचानक वि.स. २०७९, पौषको अन्त्यतिर राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्ष पछि नेपाल सरकारलाई कारबाहीका लागि निर्देशन दिएर यस विषयलाई तरंगित बनायो। वि.स. २०६३ चैत ७ गते भएको घटनामाथि आयोगले तत्काल नै अनुसन्धान गर्न टोली खटाएको थियो। तर, त्यसको प्रतिवेदनलाई भने १६ वर्षसम्म यतिकै राखेर कारबाहीको सिफारिस गर्नुले अनेकन् आसन्न आशंकाहरूलाई बल दिएको थियो। यद्यपि यसले उपेन्द्रको सत्तायात्राको एकाग्रतालाई थोरैपनि बिघ्न पुर्याएन्। 

यसपछि यस काण्डमा मारिएका माओवादी पक्षका परिवारका मानिसहरूको एक समिति बन्यो। पुरानो माओवादी नेता तथा अहिलेका स्वतन्त्र सांसद प्रभु साहले यसलाई हौस्याएको भनिन्छ। यथार्थ जे होस्। यो कुराले पुनः चर्चा पाउन थाल्यो। उपेन्द्र यादव समेत मंचमा बसेको एक सभामा, करिब २ महिना अघि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले “गौर हत्याकाण्ड समेत सबै हत्या काण्डहरूको छानबिन हुनेछ। कुनै अपराधीलाई उन्मुक्ति दिइने छैन” भनेपछि टिभी पर्सनहरूले क्यामेराको लेन्स उपेन्द्र तिर घुमाएका थिए। उनी हाँसेको देखियो। तर, अनुहार बिग्रियो। छालाको रंग बदरंग भएको टिभी दर्शकहरूले बुझे। 

यसपछि माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एक कडा अभिव्यक्ति दिए। यो एकदमै हालैको कुरा हो। माओवादी पार्टीको शायद केन्द्रीय पदाधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने “ठूलाठूला भयानक हत्याकाण्डहरू छन्। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरवार हत्याकाण्ड, सबैको खोजीनिती गर्नुछ।” यसले बडो ठुलो संकेत दियो। यसै क्रममा अहिले आएर नेपाल सरकार र पिडीत परिवारहरूको समितिका बीच छानबिन तथा कारवाही गरिने बारे अहिले भर्खरै एक सहमति भयो। अब यति खेर उपेन्द्र चैनहीन हुन पुगेका छन्। उनी कठिन अवस्थामा पुगेको अनुमान गरिंदैछ। म भन्न सक्दिन कि यसको कस्तो परिणाम आउने छ। यद्यपि, उपेन्द्रको भान्सामा पहुँच राख्ने एक जनाले आज जनाए कि उपेन्द्र सर जीवनको कठिन समयमा छन्। हिजो आफैले डाकेको पत्रकार सम्मेलनमा गएनन्। वास्तवमा म पनि चिन्तित छु। 

यद्यपि मलाई यसबारे धेरै लेख्न मन छैन। यसरी लेखाई सक्दैछुः

मार्टिन निमोलर सन् १८९२–१९८४ का एक प्रख्यात प्रोटेस्टेन्ट पादरी थिए जो एडोल्फ हिटलरको मुखर सार्वजनिक शत्रुको रूपमा उभिए र आफ्नो प्रखर राष्ट्रवाद सोचको बाबजुद नाजी शासनको अन्तिम सात वर्ष एकाग्रता शिविरमा बिताए। निमोलरलाई यो उद्धरणको लागि आज पर्यन्त संसार भर सम्झिइन्छ  

“पहिले उनीहरू मेरा सम्मुख समाजवादीको विरोधमा आए, र म बोलिनँ। किनभने म समाजवादी थिइनँ।

त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूको विरोधका लागि आए, र पनि मैले बोलिनँ  किनभने म ट्रेड युनियनवादी थिइन।

त्यसपछि तिनीहरू यहूदीहरूको विरोधमा आए, र म बोलिनँ  किनकि म यहूदी थिइनँ।

त्यसपछि तिनीहरू मेरो लागि आए र यतिखेर मेरो लागि बोल्न कोही बाँकी थिएन।”