अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच के-के भयाो कुराकानी?

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच के-के भयाो कुराकानी?


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नु भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनु भयो।

पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनु भएको छ। 

‘समसामयिक राजनीतिक घटनाक्रम र मुख्यगरी सदनको गतिरोध अन्त्य गर्ने विषयमा उहाँहरूबीच कुराकानी केन्द्रित भयो,’ पोखरेलले भन्नुभयो, ‘लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता र संसदप्रति नै नकरात्मक प्रभाव पर्ने भएकोले गतिरोध अन्त्य गर्न राष्ट्रपतिज्यूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई ध्यानाकर्षण गराउनुभएको छ।’

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्‍का सबै दलहरूलाई विश्वासको वातावरण बनाएर अघि बढ्न सुझाव पनि दिनु भएको छ।

‘सबै दलहरूलाई विश्वासमा लिएर सदन चल्ने वातावरण बनाउन उहाँले सुझाव पनि दिनुभएको छ,’ उहाँले भन्नुभयो।

 अध्यक्ष ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलले बताउनु भयो।

गत साउन २६ गते राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गर्नु भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।