अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन: अध्यक्ष ओली

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताउनु भएको छ ।  

नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने बताउनु भयो। उहाँले न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा बीचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरूको हो । प्रकृतिले दिएका मित्रहरू, इतिहासले बनाएका मित्रहरू र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिले कहिले, कुनै कुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन । किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो इतिहासले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो । त्यसकारण यो बिगार्नै नसक्ने खालको सम्बन्ध हो । अब यसलाई खटपट हुन दिनु वाञ्छनीय हुँदैन । तसर्थ, हामी २१ औं शताब्दीमा छौँ । पारस्परिक सहयोग, साथ, पारस्परिक लाभको आधारमा एक अर्कालाई सर्पोट गर्ने कुरा र एक अर्काको सम्मानका साथ हामी हरेकको, हरेकलाई स्वाधीनता प्यारो हुन्छ भन्ने कुरा बुझेर नै हामी एक अर्कालाई मद्दत पनि गर्छौ । म जे चाहन्छु, अर्कोले त्यही चाहन्छ भन्ने कुरा हृदयङ्गम गरेर, आफू जस्तो चाहन्छ, अर्कोले पनि त्यही चाहन्छ भन्ने कुरालाई हृदयङ्गम गरेर नै हामी अगाडि बढ्छौँ ।’

अध्यक्ष ओलीले आफूहरू सधैँ समानता, पारस्परिक लाभ र सम्मानको पक्षमा रहेको स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हित हरेक देशले सोच्छ। राष्ट्रिय हित सोच्दा खेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हितको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदा खेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । हामी सदैव न्यायको पक्षमा छौँ । हामी सदैव समानताको पक्षमा छौँ । पारस्परिक लाभ र सम्मानको पक्षमा छौँ । र, सम्बन्धलाई साँच्चैको मित्रताको रूपमा अगाडि बढाउन चाहन्छौँ । हाम्रो ट्रेडिशन के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिब ? को कृष्ण, को सुदामा ? त्यो भेद रहेन । दुवैले अंकमाल गरेँ । हो, त्यो प्रकारको फ्रेन्डसिप हुन्छ । त यहाँनिर प्रश्न कृष्ण र सुदामाको छैन ।’

अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गर्नुभयो । उहाँले दुवै छिमेकी सँगै हिँड्नु अनिवार्य शर्त भएको बताउँदै यसको कुनै विकल्प नरहेको जिकिर गर्नु भयो ।