अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माकुराको जालोमा भैंसी पर्दैन, मलाई गोली हान्न सक्छन्: अध्यक्ष ओली

माकुराको जालोमा भैंसी पर्दैन, मलाई गोली हान्न सक्छन्: अध्यक्ष ओली

केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताउनु भएको छु।

बिहीबार एमालेनिकट भूपू सैनिक-प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताउनु भएको हो।

‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानून पल्टाइ-पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ उहाँले भन्नुभयो, ‘माकुराको जालोमा भैंसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ !’

उहाँले आफूले कसैले गोली हान्न सक्ने बताउनु भयो । यसमा आपत्ति नभएको उहाँको भनाइ छ।

‘मलाई…. पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्‍यो। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो। म १४ वर्ष जेल बसें,’ उहाँले भन्नुभयो, ‘त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानूनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन। किन केपी ओली ढुक्कले बोल्छ ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यका विरूद्ध…,जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरूद्ध काम गर्छन्। त्यस्ता तत्त्व छन्। तिनीहरू आइलाग्न सक्छन्। म कानुनीरूपमा पनि सतर्क छु तिनीहरूसँग।’

उहाँले भ्रष्टाचार, तस्करीलाई छोप्न, एमालेले गर्‍यो, एमाले गर्‍यो भनेर हल्ला चलाइएको बताउनु भयो।

‘यो खालको एउटा फोहोरी हावा बगेको छ,’ उहाँले भन्नुभयो, ‘एउटाले तुरून्तै छाप्छ, केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो!’