अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः अध्यक्ष ओली

प्रधानमन्त्री दाहाल र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः अध्यक्ष ओली

प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनु भएको छ।

बिहीवार भक्तपुरमा एमालेनिकट नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले कोशी प्रदेशमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनु भयो।

उहाँले कोशी प्रदशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गर्नु भयो। उहाँले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘अहिले काेशी प्रदेशमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजी र माधवकुमार नेपालजीका कार्यकर्ता छन् । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ। ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ-आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहिं छेउमा बसेर ताली पड्काउँछन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले प्रचण्ड-माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको टिप्पणी गर्नु भयो।

उहाँले भन्नुभयो, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्। उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन् । अनि आफ्नै कार्यकर्ता। उहाँहरूले साम्रदायिकता। उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा दाहाल, माधवकुमार नेपाल। यही बाहुनले । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ । मैले बाहुन किन भनेको भने किन साम्रदायिक नारा दिनुहुन्छ । लेख्नुस् न तपाईँको थर तर साप्रदायिक नारा किन दिनुहुन्छ। जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ। जातीय नाराको रूपमा। अस्ति म झापा गएँ जातीय नारा उचालेर ढुंगा हाने। एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन्उ- उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो ।’