अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्रे अम्बास नोष्टालजिया : मदन र मैले चौथो महाधिवेशनका डकुमेन्ट जब बाटैमा डढायौं

सर्रे अम्बास नोष्टालजिया : मदन र मैले चौथो महाधिवेशनका डकुमेन्ट जब बाटैमा डढायौं


काठमाडौं -भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो, त्यसबेला सबैभन्दापछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैनरु म हाँसे मात्र । उहाँको प्रश्नले मलाई ३४ बर्ष अघिको घटना एकपटक संझाई दियो । सुरु मै महाधिवेशन स्थल पुग्ने तर महाधिवशेन सुरु हुँदा चाँहि सबैभन्दा ढिलो देखा पर्ने ‘केटो’म नै थिएँ ।।

नेकपाको चौथो महाधिवेशन स्थल सर्रे अम्बासमा मेरो जिम्मेवारीको प्राबिधिक पक्ष त्यति उत्पात केही पनि थिएन– हलको आन्तरिक साजसज्जा गर्ने र साउण्ड सिस्टमको व्यवस्था गर्ने, त्यतिबेलाको चलन अनुसार साजसज्जा भनेको सहिद र अन्तर्राष्ट्रिय “प्राधिकार”हरुको फोटो भित्तामा टाङ्ने, मोटिभेसनल नारा आकर्षक अक्षरमा लेखिएको राता तुलहरु र उद्घाटनको ब्यानर तयार पार्ने र उपयुक्त ढङ्गले भित्तामा टाङ्ने । साउण्ड सिस्टमको चुनौति चाँहि बाहिर आवाज नजाने तर त्यहाँ चाँहि प्रष्टै सुनिनु पर्ने भनिएको थियो । मलाई यी कामका अतिरिक्त पार्टी हेडक्वाटरले महाधिवेशनको डकुमेन्ट प्रडक्सनको जिम्मा दिएको थियो । त्यतिखेर कम्प्युटर टाइप प्रयोगमा आइसकेको थिएन– थोरै कागजमा, लामा विश्लेषण गरिएका डक्युमेण्ट तयार गर्नुपर्ने चुनौति थिए । ‘ सबै तयारी पछि सूचना लिक भएको आशंकामा सिराहा कै मेथियाई गाऊँमा तय गरिएको महाधिवेशन रद्द गरिएको करिब अढाइ महिना पछि म फेरी त्यही काम गर्न हप्तादिन अघि सर्रे अम्बास जाँदै थिएँ ।

महाधिवेशन स्थलको सुरक्षालाई ध्यानमा राखी त्यहाँ जाने नेता, प्रतिनिधि तथा स्वयंसेवकहरुलाई विभिन्न गौडाबाट लगिएको थियो । म चाँहि अन्तिम स्पटबाट महाधिवेशन स्थलतिर जाँदैगर्दा हुनेवाला महासचिव मदन भण्डारीसँगै हुनुहुन्थ्यो । ३४ बर्षपछि अहिले पनि सर्रे अम्बास पुग्न राइनी खोलाले ३ ३ ठाँउमा रोक्छ । त्यतिबेला पैदल हिड्न समेत खोलाले छेक्थ्यो, अहिले बाइक र पैदल यात्रीहरु झोलुङ्गे पुल हुँदै तर्ने सुगमता भएछ । तर भेल बढ्दा गाडी सहित तर्न अबरोध रहेछ । त्यो ठाँउ सञ्चार सुबिधाबाट अझै पर रहेछ। त्यसबेला हामी दुबैले महाधिवेशनका दस्तावेज र मेरो प्राबिधिक कार्यलाई आवश्यक पर्ने सामग्रिका गह्रौँ झोला बोकेका थियौं । रातीको यस्तै १२र१ बजेको हुँदो हो । तेस्रो घुम्तिमा खोला तर्नु अघि कमरेड मदनले भन्नुभयो– “कुन बेला कसले कहाँ प्याक्क हानेर सिध्याउँछ, के मरिहत्ते गर्नु? आउनुस् एकछिन थकाइ मारौं ।” हामी दुबै आकास हेर्दै चौरमा केही बेर निस्फिक्री पल्टियौं । फेरी उहाँले नै सोध्नुभयो– यी डकुमेन्ट पहिले पनि ल्याउनु भएको थियो हैन र तपाईंले ? यतै छोडेको हैन ? मैले हो भनें । ‘त्यसो भए यी भारी किन बोकी रहने त ?’ ‘ उहाँको यो प्रश्नसँगै दस्तावेज अनावश्य रहेको ठानी सबै डकुमेन्ट बाल्यौं ‘ त्यसपछि हल्का झोला बोकी महाधिवशेन स्थल पुग्यौं ।

भदौ ७ गते म त्यतिखेरे ‘टु–इन–वान’ भनिने नेशनल पानासोनिक कम्पनीको टेपरिकर्डरको माइक्रोफोनलाई लठ्ठीहरु बाँधी बनाइएको ‘माइक स्ट्याण्ड’मा जोड्दै थिएँ । एक्कासी मदन कमरेड अलि आत्तिए झैं म भए ठाउँमा आउनु भयो । सायद उहाँहरु पोलिव्युरो बैठक बसिरहनु भएको थियो । सोध्नु भयो, पहिले ल्याएको डकुमेन्ट कहाँ छ ? मैले भनें, कमरेड आर माधव नेपाललाई थाहा छ, उहाँलाई दिएको हो । मसिनो स्वरमा मदनले भन्नु भयो, गल्ति भयो जस्तो छ । राजनीतिक प्रतिवेदनमा संशोधन भएकोले तपाईँलाई रि–प्रडक्सन गर्न भनिएको हो । पहिलेको त्यो त काम लाग्दैन नि । त्यतिबेला म काठमाडौं मजदुर विशेष जिल्ला संगठन कमिटीको प्रमुख थिएँ । मैले भनें, केन्द्रले गरेको करेक्सन त मैले कसरी जान्नु र कमरेड ।

उहाँ फर्किनु भयो, मदन फर्किएको मिनेट भरमै ‘आग–बबुला’हुँदै माधव आउनु भयो । उहाँले चोर औंला नचाउँदै भन्नुभयो– डकुमेन्ट खै ल्याउनुस् ‘ मैले भनें पहिलेको तपाइँलाई नै छोडेको हो, अहिलेको त डढाईयो । “तपाईँ गैर जिम्मेवार ” माधवले मेरो कडा आलोचना गर्दै सजायँ सुनाउनु भयो– पर्सी भदौ ९ गते महाधिवेशन सुरु हुँदा मलाई सबै डकुमेन्ट जस्ताको तस्तै चाहिन्छ, म अरु कुरा जान्दिन ‘ । मैले भनें– पुरानो डकुमेन्टमा परिवर्तन भएको कुरा कमरेडहरुले पनि भन्नु भएन । मैले सोध्न मिलेन । ठीक छ कमरेड, मलाई ‘राजमार्ग’सम्म पुर्‍याउने व्यवस्था होस् । आज राती नै काठमाडौं पुग्छु । सामग्रि सहित पर्सी बिहान राजमार्गमा नै हाजिर हुन्छु । त्यहाँबाट यता ल्याउने प्रबन्ध होस् ।
त्यस्तै भयो । म ७ गते राती काठमाडौं फर्किएँ । कोपुण्डोलमा पार्टीका साथी कबीन्द्र अमात्यको घर छ । उहाँकै घरमा हामीले पार्टी केन्द्रको छपाईको कामगर्न हेभि–ड्युटीवाला फोटोकपी मशिन राखेका थियौं । त्यहाँ पहिले फाटोकपी गरेको सबै दस्तावेजको मास्टर–कपी सुरक्षित थियो । सायद त्यतिखेर सयको हाराहारीमा प्रतिनिधि हुनुहुन्थ्यो । जलाइएका सबै दस्तावेजलाई मैले सबै प्रतिनिधिलाई पुग्ने गरी फोटोकपी गरें । सेन्टर स्टीच गरी किताव जस्तै बनाएँ र राती नै फर्किएँ ।

मलाई भनिएको थियो– कटारीमा ओर्लनु । ओर्लिएपछि चरा कराएको आवाज सुन्नु, जताबाट आवाज आउँछ, त्यतै जानुँ । जो व्यक्ति भेटिनु हुन्छ, उहाँसँगै पछि लाग्नु ‘ । पूर्व जाँदा हामी त्यतिखेर लालिमा यातयाताको बस चढ्थ्यौं । लालिमा यातायातले बिहान करिब ३र४ बजेतिर पुलिस पोस्टकै छेऊमा झारी दियो । ठ्याक्कै स्मरण छैन, त्यो कटारी वा मिर्चैया कतै हुनुपर्छ । झोलाभरी संवेदनशील दस्तावेज, त्यहाँको केही पनि लोकशन नजान्ने म उभि रहेछु, चरा कराएको आवाज आउँदै आएन ‘ झण्डै ४५ मिनेट जति पछि चरा करायो, खुट्टा खञ्चयाङ खञ्च्याङ गर्दै कमरेड लाल राम औतार पासवान देखिनुभयो । मैले फुसफुसाउँदै सोधें– किन ढिला कमरेड ? संवेदनशील ठाँउमा यति बेरसम्म कुर्न पर्‍यो, केही भएको भए कति ठूलो क्षति हुन्थ्यो होला ।

उनको आफ्नै कथा सुरु भयो– समय मैं आइपुग्थें । बाटोमा सर्पले टोक्यो । अब गोमनले डस्यो, मरिनो भइयो भन्ने लाग्यो । बाँचि पो हालिन्छ कि भनेर स्वास्थ्य चौकि खोज्ने तिर लागें । बाँचे भने त तपाईलाई लिन आइहाल्थें । मरिने भयो भनें के गर्ने ? तपाईँ गर्नु होला । कम्युनिस्ट मान्छे, मर्नै लाग्दा “राम–राम” भन्न भएन, के भन्ने होला ? आपत पर्‍यो, बाटाभरी माओत्से तुङ, माओत्से तुङ भन्दै हिँडे ।

त्यो अप्ठ्यारो समयमा पनि लालका कुराले मलाई रोमाञ्चित गर्‍यो । संझें– हाम्रो पार्टी पङ्ति कसरी धार्मिक अन्धविश्वास र भौतिकवादको छिपछिपे ज्ञानबीच रुमल्लिइ रहेको छ । बिडम्बना पनि कस्तो ? मरिने पो भइयो कि भन्ने चिन्ताले सायद स्वर्ग जान यी कमरेड जुन माओको नाम जप्दै थिए, आजैबाट सुरु हुने महाधिवेशनमा तिनै माओको विचारधारा पार्टीको मार्गदर्शक सिद्धान्तबाट हट्दै थियो ।

विष्णुपुरवा गाँउ पुग्दा झिसमिसे उज्यालो भयो । गाउँलेहरु हातमा लोटा लिएर बाटो छेउमा मलमुत्र त्याग्न लामबद्ध हुन थालिसकेका थिए । हामीलाई उज्यालोमा हिड्ने अनुमति थिएन । उता ९ गते महाधिवेशन सुरु हुनु अघि दस्तावेज पुग्नै पर्ने । कमरेड लालले मलाई एउटा सेल्टरमा राखे । मैले पार्टीलाई आफु आइपुगेको र महाधिवेशन स्थलमा आउने अनुमतिको लागि पत्र लेखें । मलाई त्यो सेल्टरबाट सर्रे अम्बास कति पर छ, त्यो पनि थाहा थिएन । दिउसो त्यस्तै ४ बजेतिर होला म महाधिवेशन स्थल पुगें । त्यतिखेर महाधिवेशन सुरु भइसकेको रहेछ । जीवराज आश्रित मैले लौरो बाँधेर बनाएको माइक स्ट्याण्ड अघि उभिएर उद्घोषण गर्दै हुनुहुँदो रहेछ । मलाई देख्ना साथ कमरेड ‘ ‘ काठमाडौंबाट भरखर आइपुग्नु भयो भन्नुभयो । त्यो जिवन्त र ऐतिहासिक महत्वको महाधिवेशनमा अन्तत म पनि सहभागि हुन सकें । गोपाल गुरागाइँ कमरेडले त्यही सन्दर्भलाई स्मरण गर्दा मलाई एकैछिन महाधिवेशनको त्यो क्षणको नियास्रो लाग्यो । यदी आज मदन जिवित हुनभएको भए ‘ यस्तो भावना आइहाल्दो रहेछ । यदी चौथौ महाधिवेशनले कोर्स करेक्सन नगरेको भए ‘ सँगसँगै यो पनि आइ हाल्दो रहेछ ।

अहिले संझन्छु, २०४६ सालको चौथो महाधिवेशनदेखि २०७८ सालको दशौं महाधिवेशनसम्म ‘व्यवस्थापन’ भन्ने बिषयले मलाई छोडेको छैन, भलै भूमिका फरक फरक किन नहोस् । सर्रे अम्बासमा नेकपा स्थापनाको हिरक स्तम्भ निर्माणको शिलान्यास भदौ १३ गते भयो । त्यस स्मारक निर्माणको समन्वय अहिले पनि मेरो जिम्मामा परेको छ । पार्टीमा लाग्दा जिम्मा पाउँदा जो पनि दङ्ग पर्छन् । ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि किन दङग नपरौं ?