काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले २०८१ असोज ११ र १२ गते सरकारको पूर्वसूचनाविपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धमा छानबिन भइरहेको बताउनुभएको छ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालीन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताउनु भयो।
मन्त्री दाहालले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडि बढेको बताउनु भयो।
उहाँले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौँ बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ। नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ।’
‘जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै पनि किन बस आयो र यस्तो दुर्घटना भयो भन्ने कुराको सन्दर्भमा हामी गम्भीर नै भएका छौँ। किन त्यस्तो भयो? सम्बन्धित प्रहरी, जहाँबाट गाडी छोड्नुपर्थ्यो, त्यहाँबाट किन छोडियो भन्ने सन्दर्भमा खोजिको विषय भएको छ र त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया पनि अगाडि बढेको छ। किनभने पानी परेको बेलामा रातिको समयमा गाडी नचलाउनु भनेर एलर्ट गरिसकेको अवस्थामा पनि त्यस्तो स्थिति भयो।’






प्रतिक्रिया