अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली

आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली


बुटवल-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउनु भएको छ।

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उदघाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने दावी गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ ।’

आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने अध्यक्ष ओलीले बताउनु भयो । एमालेले मिसन २०८४ को अभियान सुरु गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अबको अभियानको उद्देश्य घर-घरमा पार्टी सदस्य बनाउने र संगठन बिस्तार गर्दै एमालेको एक्लैको बहुमतको सरकार बनाउने वातावरण तयार गर्नुपर्छ।’

एमाले काचो माटोको डल्लो नभएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, ‘देश बनाउने महान उद्देश्य बोकेको पार्टी एमालेबाट विगतमा बाटो बिराएर अन्यत्र गएकाहरुलाई फेरि फर्केर मूल घरमा आउन आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको बताउनुभयो । एमालेको सदस्यता घट्यो भनेर हल्ला बिपक्षीहरुले चलाएको भन्दै उहाँले त्यस्तो अवस्था एमालेको नरहेको प्रष्ट पार्नुभयो । 

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताउनुभयो । सुशासन र समृद्धिका लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने पार्टी एमाले भएकाले पार्टीले सोहीअनुसार सन्देश दिने काम गर्नुपर्छ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी पनि गर्नुभयो । आगामी निर्वाचनबाट एमाले एक्लै बहुमत ल्याएर देशलाई समृद्ध बनाउने उहाँको भनाइ छ ।