अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी प्रदेश अधिवेशन: नेतृत्वमा सहमतिको प्रयास जारी

एमाले लुम्बिनी प्रदेश अधिवेशन: नेतृत्वमा सहमतिको प्रयास जारी


रुपन्देही-रुपन्देहीको बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताउनु भएको छ।

राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो।

एमालेका एक नेताले भन्नुभयो, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ। हिजो रातभर प्रयास गर्दा पनि सफल भएन। फेरि पनि सहमतिको प्रयास जारी छ।’

अधिवेशनको उद्घाटन हिजो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटनमा बोल्दै उहाँले नेतृत्व सर्वसहमतिले चयन गर्न निर्देशन दिनुभएको थियो । 

आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गर्नु भएको छ । सचिव अर्याललाई निर्देशन गर्दै ओलीले भन्नुभयो, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

एउटा पद नहुँदै केही बिग्रिने भन्नुहुँदै अध्यक्ष ओलीले सबै अधिकार इन्चार्ज अर्याललाई दिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘सबै आधिकारिक निर्णय इन्चार्ज अर्यालले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ।’ नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उहाँले आग्रह गर्नु भयो ।

‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन। तपाईँहरू एकतावद्ध भएर जानै पर्छ। तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ।’

अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गर्नु भयो।