अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिपछि एमालेले अन्य दलसँग छलफल गर्ने 

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिपछि एमालेले अन्य दलसँग छलफल गर्ने 


काठमाडौँ-कोशी प्रदेशले भोलिसम्म नयाँ मुख्यमन्त्री पाउँदैछ । सर्वोच्च अदालतले हिजो सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि कोशीले भोलिसम्म नयाँ मुख्यमन्त्री पाउन लागेको हो । 

सबैभन्दा ठूलो दलको हैसियतमा कोशीमा नेकपा एमालेले सरकार गठन गर्नेछ । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुहुनेछ । 

एमालेले कोशीमा सरकार गठन गरेपनि बहुमत भने पुग्दैन । बहुमत पुर्‍याउन एमालेले अन्य दलसँग छलफलको तयारी गरेको छ । एमालेले कांग्रसे, माओवादी केन्द्रलगायत दलसँग छलफल अगाडि बढाउने तयारी गरेको हो । 

मुख्यमन्त्री नियुक्ति पछि अन्य दलसँग छलफल गर्ने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री नियुक्ति र शपथपछि लचकदार भएर अन्य दलसँग छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री नियुक्त हुनुपर्‍यो, शपथ ग्रहण हुनुपर्‍यो हामी दलहरुसँग एकदम लचकदार भएर प्रस्तुत हुन्छाँै । हामीले बारम्बार के भनेका छौ भने अरु दललाई यो हिसाबले सरकार चल्दै त्यसैले नयाँ खालको सहमति कायम गरौं । पहिला पनि प्रस्ताव राख्दै आएका हौँ । अब सरकार गठन भएपछि फेरि निरन्तर दलहरुसँग छलफल गर्छौँ ।’ 

प्रमुख सचेतक भण्डारीले एमालेको पक्षमा बहुमत पुर्‍याउन अन्य दलसँग छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संयुक्त रुपमा पनि छलफल हुन्छ, अलग अलग पनि छलफल हुन्छ । प्रदेशसभा प्रतिपक्ष बिहीनको सम्भावना नहोला त्यसलाई पनि ख्याल गरेर हामी संख्याको आधारमा उपयुक्त निर्णय लिन्छौँ । कांग्रेससँग पनि हामी तयार छौँ । अन्य दलहरुसँग पनि छलफल गछौँ ।’ 

कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले पाएको विश्वासको मत बदर गर्दै सर्वोच्च अदालतले हिजो २४ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।