अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकलाई विकसित र सभ्य बनाउन एमालेबाहेकका अन्य शक्तिले सक्दैनन्ः कैलाश ढुङ्गेल

मुलुकलाई विकसित र सभ्य बनाउन एमालेबाहेकका अन्य शक्तिले सक्दैनन्ः कैलाश ढुङ्गेल


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमाले बाहेक अन्य दलले मुलुकलाई समृद्ध, सभ्य र आधुनिक बनाउन नसक्ने दावी गर्नु भएको छ।

एमाले बाहेकले देश बनाउन नसक्ने बताउँदै ढुङ्गेलले त्यसको लागि एमालेले मिसन २०८४ अभियान सुरु गरेका बताउनुभयो । एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो।

नेता ढुङ्गेलले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु गौरवको विषय भएको बताउनु भएको छ। 

शुक्रबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका १ हजार ७६१ जना नयाँ सदस्यलाई शपथ गराउँदै ढुङ्गेलले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्ने कुरा चानचुने कुरा नभएको बताउनु भयो। 

उहाँले कम्युनिष्ट पार्टीको सदस्यले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने बताउनु भयो । पार्टीको नीति, विचार र सिद्धान्तलाई अङ्गालेर कम्युनिष्ट आचरण अनुसार पार्टी कार्यकर्ता चल्नु पर्नेमा ढुङ्गेलले जोड दिनुभयो । व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हित एवं देशको लागि लाग्नु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईँहरूले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेर्नुस्, म हिजो कस्तो थिएँ, आज कस्तो भए र भोली कस्तो हुनेछु भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस्, समाज  र देश परिवर्तन गर्न सकिन्छ।’

नेता ढुङ्गेलले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने बताउनु भयो। उहँले भन्नुभयो, ‘जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्छ।’

उहाँले कुरा मात्रै गर्ने काम केही नगर्ने व्यक्ति पार्टीमा काम नलाग्ने बताउनुभयो । कम्युनिष्ट पार्टीका कार्यकर्ता सिर्जनात्मक हुनु पर्नेमा उहाँले जोड  दिनुभयो। 

नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार नै नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले सबैलाई एमालेमा समाहित हुन आग्रह गर्नुभयो । प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै भएको कुरा उहाँले स्मरण गराउनुभयो । 

नेकपा एमालेले वृद्ध भत्तालाई पाँच हजार पुर्‍याउने लक्ष्य लिएको तर त्यो काम गर्न नपाउँदै एमाले सरकार ढालिएको उहाँले बताउनुभयो । देश विकासका खम्बा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू अगाडि बढाउने, सुशासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको र त्यसैबाट डराएकाले एमाले सरकार ढालेको उहाँको भनाइ छ।