अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारका लागि कांग्रेसले भूमिका खेल्नुपर्छ: प्रदीप ज्ञवाली

कोशी प्रदेश सरकारका लागि कांग्रेसले भूमिका खेल्नुपर्छ: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनु भएको छ । 

आज सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठुलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाटै भएको बताउनुभयो । 

प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा थप समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले प्रदेशको हित र संविधान रक्षामा काँग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ । यसअघि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ।’

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव माग्नुभएको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको जानकारी दिनुभयो । उहाँले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो कि भन्ने शङ्का चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताउनुभयो।