अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेलद्वारा नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन चीनलाई आग्रह

एमाले महासचिव पोखरेलद्वारा नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन चीनलाई आग्रह


बेइजिङ-नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको छ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भेटवार्तामा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको छ।

उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताउनु भएको थियो ।

उहाँले त्यही नक्साका कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको कुरा चिनियाँ नेतासँग बताउनु भयो। 

‘हाामीले जारी गरेको नक्साको सन्दर्भमा हामी त्यहीअनुसार चीनको पनि साथ चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ। हामी एक चीनको पक्षमा दृढ छौँ। नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं।’

उहाँले भेटका क्रममा नेकपा (एमाले) ले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि बताउनु भयो।

महासचिव पोखरेलले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन् पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको समेत जानकारी गराउनु भयो ।

विदेश विभाग प्रमुख लिउ जियनचाआले एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले)लाई धन्यवाद दिनु भएको छ । ‘नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ। यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं’, लिउको भनाइ छ। 

त्यसक्रममा लिउले चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै अध्यक्ष ओली र सीबीच भएका सहमति सहमति कार्यान्वयन होस् भन्नेमा आफुहरु दृढ रहेको बताउनु भयो ।

महासचिव शंकर पोखरेलले राख्नुभएको धारणाः 
– १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ। हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं।
– नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ। 
– नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं। यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ । फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं। २०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशील छौं । 
– हाम्रो अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा छौं । 

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओको भनाइः 
– एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले) लाई धन्यवाद।
– नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइँमा लैजान चाहन्छौं ।
– चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन्। 
– हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ।
– नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेको हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ।
– दुई पार्टीका उच्चस्तरीय नेताहरूको भ्रमणलाई अझ बढाउनुपर्छ।
– चीन सधैंभरि शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ। भबिष्यमा पनि तपाईहरूले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ।
महासचिव पोखरेल नेतृत्वको भ्रमण दल आज छिन्हाई शहर जानेछ। त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्नु हुने छ। 

महासचिव पोखरेल आइतबार तियानमेन स्क्यायर जानुभई चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता अध्यक्ष माओत्सेतुङप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो।