अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल


काठमाडौँ–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्याे”, नेता खनालले भन्नुभयो, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्थ्यौँ ।”

आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी हुनुभएको बताउनुभयो । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उहाँले भन्नुभयो ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित हुनुभएको उल्लेख गर्दै उहाँले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । नेम्वाङ भौतिकरूपमा नरहे पनि नेपालको कम्युनिस्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गर्नुभएको योगदान सबैका सामु स्पष्ट रहेको उहाँको भनाइ छ ।

पूर्वसभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।