अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एउटा रिर्पोटरको आग्रहमा गाडीबाट झरेर ‘बाइट’ दिने हाइप्रोफाइल

एउटा रिर्पोटरको आग्रहमा गाडीबाट झरेर ‘बाइट’ दिने हाइप्रोफाइल


समकालिन हाइप्रोफाइलहरू मध्ये सुवासचन्द्र नेम्वाङ यस्तो नेता हुनुहुन्थ्यो जो सामाजिक सञ्जालमा जोडिनु भएको थिएन। दुई पटक संविधानसभाको अध्यक्ष, तीन पटक सभामुख र नेकपा एमाले जस्तो विशाल पार्टीको उपाध्यक्ष भएर पनि उहाँको नाममा न फेसुबक आइडी थियो न त ट्विटर आइडी। टिकटक, इन्स्टग्राम र अन्य सञ्जालको त परैको कुरा। सामाजिक सञ्जाल नचलाए पनि नेम्वाङ छिनछिनका घटनामा अपडेटेड नेतामा पर्नुहुन्थ्यो। त्यती मात्र होइन तिनै अपडेटेड घटनाका बारेमा जानकारी भएर मिडियामा प्रतिक्रिया दिने नेता मध्येमा नेम्वाङ अग्रपंक्तीमा नै हुनुहुन्थ्यो।

सामाजिक सञ्जालमा जोडिइसकेको भर्चुअल संसारका बीचमा नेम्वाङले किन सञ्चारका ती माध्यम प्रयोग गर्न चाहनु भएन ? धेरैको जिज्ञासा थियो। यो जिज्ञासा मैरे अगाडी पनि धेरैले उहाँलाई राखेका थिए। सोध्नेहरूलाई उहाँ हाँसेरै जवाफ दिनुहुन्थ्यो ‘फेसबुक नचलाए पनि तपाईंहरू भन्दा कम अपडेट छुइन।’

२०७३ साल भदौको एक बिहान उहाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुभएको थियो। फर्कने बेलामा म पनि उहाँकै गाडीमा सिंहदरबारसम्म आएँ । बाटोमा मैले सोधें, ‘तपाईंको त फेसबुक, ट्विटर केही पनि देख्दिन त किन नखोल्नु भएको ?’ उहाँले यसमा आफूलाई खास रुचि नभएको र अरूको देखेरै आफू अघाएको प्रतिक्रिया दिनुभयो। मैले अलि जब्बर गरें ‘तपाईंका कार्यकर्ता, मतदाता सबै सामाजिक सञ्जालमा जोडिएका छन्। उनीहरूसँगको नियिमित भेट र अन्तरक्रिया पनि त हो नि फेसबुक ।’ उहाँले भन्नुभयो ‘अहिले नै हामी युरोप अमेरिका जस्तो भइसकेका छैनौ नि।’

सामाजिक सञ्जालले नै राजनीति गरिदिन्छ, चुनाव जिताइदिन्छ भन्नेहरूका लागि नेम्वाङ एउटा अपवाद भएर जानुभयो । तथापि पछिल्ला वर्षहरूमा उहाँले यो माध्यमप्रतिको रुचि बढाउनु भएको थियो।

दशौं महाधिवेशन: अध्यक्षमा उठ्दिन, उपाध्यक्ष हुदिन
नेकपा एमालेको १०औं महाधिवेशनको ग्राफ बढ्दै थियो। कसैले कुनै पनि पदमा पनि उम्मेद्वारीको औपचारिक रूपमा मुख खोल्न आँट गरिरहेका थिएनन् । काम विशेषले बालकोट जानलाई कौशलटारबाट स्कूटर दाँया मोड्दै थिएँ । सुवास नेम्वाङको फोन आयो। सडक किनारामा उभिएर फोन उठाएँ । सदा झैं उहाँले भन्नुभयो, ‘अँ कहाँ हो ?’ त्यसपछि उहाँले बेलिबिस्तार लगाउनुभयो। पार्टीको महाधिवेशन, अरू नेताहरूको दाबी। आफूले पार्टीमा गरेको योगदान । पार्टीमा आफूले हालसम्म पाएको जिम्मेवारी सबै कुरा भनिसकेपछि भन्नुभयो ‘मेरो कुरा बुझ्नु भो नि ?’ ‘तपाईंले कुन पदमा उम्मेद्वारी दिन्छु भनेको मैले त बुझिनँ ।’ उहाँले हाँस्तै भन्नुभयो ‘म अध्यक्षमा दाबी गर्दिन । उपाध्यक्ष हुदिन। हो यसैको आधारमा तपाईंको सञ्चार माध्यमबाट सुवास उठ्ने भो भनेर लेखिदिनुहोस् ।’ उहाँले संकेत गरेको पद वरिष्ठ उपाध्यक्ष हो भनेर बुझ्न मलाई बेरै लागेन । किनकि उहाँको स्वभाव नै कुनै कुरा ठ्यांग भनिहाल्ने भन्दा पनि त्यसलाई भूमिका बाँधेर व्यक्त गर्ने र आशयबाटै बुझ्न सकिने गरी प्रष्ट पार्ने पुरानै बानीका बारेमा म परिचित नै थिएँ।

सधैं सहमतीका साधकका रूपमा रहेका नेम्वाङले सहमतीको दशौं महाधिवेशनमा आफू अवरोध हुन चाहनु भएन । त्यसैले पार्टीका हाइकमाण्ड नेताहरू बीच पद विभाजनमा सहमति बन्यो । त्यसैलाई शिरोधार्य गर्दै ‘हुन्न’ भनेको उपाध्यक्ष पद नेम्वाङले स्विकार्नुभयो।

सुवास नेम्वाङलाई २०६४ सालबाट मैले नजिकबाट चिनेको हुँ । त्यसबेला म कान्तिपुर दैनिकमा दमकबाट संवाददाताको काम गर्थें । उहाँको निर्वाचन क्षेत्र दमकसँगै जोडिएको थियो । ठूलो र विकट भूगोलमा फैलिएको उहाँको निर्वाचन क्षेत्रको दक्षिणी भेगलाई त्यसबेला ‘इलामले नदेखेको,झापाले नसमेटेको’ भन्ने गरिन्थ्यो । २०६४ को संविधानसभाको चुनाव प्रचारका क्रममा पनि उहाँको क्षेत्रमा धेरै पटक रिर्पोटिङ गर्न गइयो । संविधासनसभाको अध्यक्ष भइसकेपछि पनि निर्वाचन क्षेत्रमा दिनभरी खटिए पनि साँझ बासस्न उहाँ सशस्त्र प्रहरीको पाथिभरा गणमा आउनु हुन्थ्यो । यो गण दमकसँगै जोडिएको थियो । कार्यकर्ता भेटघाटका लागि हुने साँझका बैठकहरुमा प्राय मलाई पनि उहाँले बोलाउन लगाउनुहुन्थ्यो । त्यसबेला नेताहरूका गतिविधि मोफसलका मानिसहरुले नजिकैबाट हेर्ने, देख्ने मौका कमै पाइन्थ्यो । पत्रिकामा छापिएका तस्विर र टेलिभिजनमा देखाइएका सम्पादन गरिएका दृष्यका आधारमा नै नेताहरु प्रतिको धारणा आम मानिसहरुले बनाउथे । अहिले जस्तो सामाजिक सञ्जालको छ्याप्पछ्याप्ती पनि थिएन । त्यसमाथि सामाजिक सञ्जाल नै नचलाउने नेताको त के कुरा भयो र ?

संविधानसभाका अध्यक्षलाई गाडीबाट झारेर प्रतिक्रिया लिंदा…….
सुवास नेम्वाङ मिडियाका लागि धेरै सहज छन् भनेर धेरै पत्रकारले भनेको सुनें । काठमाडौं आएपछि कतिपय अवस्थामा आफैंले पनि महसूस गरें । तर त्यो भन्दा ठूलो अनुभव त मैले धेरै पहिला नै गरिसकेको थिएँ । २०६५ सालको जेठमा हुनुपर्दछ। संविधानसभाको अध्यक्ष भइसक्नुभएको थियो । त्यसबेलाको एउटा ठूलो पावर सेन्टर। उहाँसँग बोल्न पनि हच्किनु पर्ने अवस्था थियो । इलामबाट दमक हुँदै विराटनगर जाने तयारीका साथ उहाँ इलामबाट आउँदै हुनुहुन्छ भन्ने थाहा पाएँ । त्यसपछि मलाई एउटा दुस्हास आयो । मैले के सोचें भने दमक चोकमा संविधानसभाको अध्यक्षको गाडी रोकेर दुई मिनेट भए पनि उहाँसँग राष्ट्रिय राजनीतिका बारेमा कुरा गर्छु । त्यो कुराकानी कान्तिपुर एफएममा समाचारको रुपमा प्रशारण गर्छु । मैले नेम्वाङका स्वकीय सचिव बुद्धी खनाललाई फोन गरें। उहाँले बाटोमा रोक्न मिल्दैन भन्नुभयो। एकपटक उहाँलाई सुनाउनुहोस भने । केही बेरमा फोन आयो फाइन रेष्टुरेन्ट अगाडी अभिनुहोस । दुई मिनेट उहाँ गाडीबाट झर्नुहुन्छ रे। म सँग उहाँकै निर्वाचन क्षेत्रका एकजना कमरेड डिल्ली भट्टराई पनि हुनुुहुन्थ्यो। उहाँलाई मैले सुवास नेम्वाङ यहाँ झर्दैहुनुहुन्छ भने । डिल्लीले माला लिएर आउछु । भर्खर संविधासनसभाको अध्यक्ष हुनु भएको छ भने । मलाई माला पर्दैन । तपाईंलाई मात्र ल्याउनुहोस भने । नभन्दै केही बेरमा पुलिसको स्कर्टिङमा नेम्वाङ आउनुभयो। म भएको ठाउँमा गाडी रोकेर उही खैरो दौरा सुरुवाल र कालोकोटमा झर्नु भयो । आफूलाई दमक चोकमा गाडीबाट झार्नुको कारण बारे साविक शैलीमा सुवासले नै सोध्नुभयो ‘अँ के किन ?’ मैले केही भूमिका नबाँधी केही प्रश्न राखें । उहाँले बोल्न थाल्नुभयो । मैले उभिएरै नोट गरें । उहाँ अघि बढनुभयो। तर त्यहाँबाट अघि बढ्ने बित्तिकै उहाँको स्कर्टिङमा रहेको सशस्त्र प्रहरीको पछुवा गाडी बिग्रियो। तर नेम्वाङको गाडी रोकिएन । मैले सम्झें राज्यको यत्रो भिभिआइपीको कस्तो सरल शैली। एउटा रिर्पोटरले चाहेको बेलामा गाडीबाट झरेर बाइट दिने।

गत वर्षको पुस १० गते अप्रत्यासित रुपमा काँग्रेससँगको गठबन्धनबाट माओवादी अलग्गिएर बालकोटमा एमालेको शरणामा पुग्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री हुने कुरा हावासरी एकैछिनमा फैलियो । बालुवाटारमा काँग्रेस एकिकृत समाजवादी लगायतका दलहरू दाहाललाई पर्खिएर बसिरहेको अवस्थामा एमालेले समर्थन गरेर प्रधानमन्त्री भइसकेको कुरा सुनेपछि बेचैन भएर उनीहरू उठेका थिए ।

प्रचण्डले २३ दिनसम्म भेट्न समय नदिएपछि….
प्रधानमन्त्रीको सपथ ग्रहणको भोलीपल्ट विहान ७:३० बजेतिर सुवासचन्द्र नेम्वाङको फोन आयो। उहाँले सता गठबन्धन फुटाउन गरेको कोशीशको लामो फहेरिस्त प्रष्तुत गर्नुभयो। भन्नुभयो ‘देख्दा प्रचण्ड बालुवाटारबाट जुरुक्क उठेर बालकोट आएजस्तो देखिन्छ हगि तर यसमा ठूलो मेहनत परेको छ नि।’ अबका दिनमा के हुन्छ त राजनीति भनेर मैले सोधें । उहाँले भन्नुभयो ‘अब हगि चारवटा निर्वाचन हुन बाँकी छन्। सभामुख,उपसभामुख,राष्ट्रपति,उपपराष्ट्रपति। मेरो कुरा प्रष्टै छ म सभामुख हुने होइन,उपपराष्ट्रपति हुने होइन । भनेपछि कुरो बुझिहाल्नुभयो ।’ म हाँसे । नेम्वाङ पनि हाँस्नु भयो।

त्यसपछि उहाँले भन्नुभयो ‘अबको लाइन यो हो । यसै अनुसार साथीभाइलाई पनि भन्नुहोला।’ यसबीचमा उहाँले उच्चारण नगरी संकेत गरेको राष्ट्रपति पद हो भन्ने कुरा बुझ्न समय लागेन। राष्ट्रपतिका लागि आफू के के कारणले योग्य छु भनेर लामो तर्क पेश गर्नुभयो । एमालेले उहाँलाई राष्ट्रपतिको उम्मेद्वार बनायो पनि तर गठबन्धनसँग बहुमत भएका कारण उहाँको पराजय भयो। तथापी उहाँ आम नेपाली जनका मनका राष्ट्रपति हुन भने सफल हुनुभयो। एमालेसँग गठबन्धनमै रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई प्रधानमन्त्री प्रचण्डलाई भेट्न र आफ्ना कुरा राख्न अनुमति पनि दिनुभएको थियो। तर प्रचण्डले एमालेले नेम्वाङलाई राष्ट्रपतिको रुपमा नचाहेको रूपमा बाहिर व्यापक प्रचार गराए । तर वास्तविकता यो थियो कि सुवास नेम्वाङले यस विषयमा कुरा गर्न २३ दिनसम्म प्रचण्डसँग समय माग्दा पनि बालुवाटारले अनुमति दिंदै दिएन। प्रचण्डलाई एउटै डर थियो कि सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने हो भने चुनाव उनैले जित्छन् । त्यसैले नेम्वाङसँग डाइलग गर्दै जाने हो भने पुरानै गठबन्धनतिर फर्कने आफ्नो मनको यात्रामा ब्रेक लाग्न सक्ने प्रचण्डले अनुमान गरेको हुनुपर्दछ । त्यसले गर्दा प्रचण्ड २३ दिनसम्म नेम्वाङसँग भेट्न तयार हुनुभएन । प्रचण्डले राष्ट्रपतिका लागि काँग्रेसका उम्मेद्वारलाई सघाउने सहमति गरिसकेपछि मात्र सुवास नेम्वाङलाई भेट्नुभयो । यस बेला सम्म सुवासले भेट्न चाहेको २३ औं दिन वितिसकेको थियो ।

आफ्नो नाममा फेसबुक खोलेर अर्कैले चलायो
नेम्वाङलाई अन्तिम पटक भदौ १९ गते विहान साढे ७ बजेतिर मैले फोन गरे । फोन उठाएर पुरानै शैलीमा सोध्नु भयो ‘अँ के छ ?’ केहीबेर राजनीतिका कुरा गरिए । उहाँले समय मिलाएर दलको कार्यलयमा आउन भन्नुभयो । हुन्छ त भने फेरी के विषय होला भनेर सोधिहाले । उहाँले भन्नुभयो ‘त्यही के त…..।’ मैले बुझिन । केहीबेरमा उहाँले भन्नुभयो वेभसाइट बनाउने भन्छन् । त्यो के कस्तो हुन्छ । त्यहाँ कृष्ण पनि हुन्छ । एक पटक सल्लाह गरौंन । मैले यही मौकामा भने पहिला तपाईं फेसबुक र ट्विटर चलाउन थाल्नुन । उहाँ हाँस्नुभयो । अनि भन्नुभयो ‘हगि यो चाँही मैले चलाइन । उहिले म पहिलो पटक सभामुख भए लगत्तै एउटाले मेरो फोटो र नाम राखेर फेसबुक खोलेछ हगि। पछि अरुले भन्छ हैन तपाईं के के पोस्ट गर्नुहुन्छ । यस्तो गर्न सुहाउदैन तपाईंले भन्छन् । पछि बुझेको त एउटाले मेरो फोटो र नाम राखेर १५ हजार साथी बनाइसकेछ । अनि प्रहरीलाई भनेर त्यसलाई कारबाही गर्न लगांए । त्यो फेसबुक पनि बन्द गर्न लगांए। त्यसपछि खोलेको पनि छुइन।’

तर नेम्वाङले चाहना गरेको त्यो वेभसाइट खोल्ने सल्लाहमा म जान पाइन । उहाँले वेभसाइट खोल्नु भयो कि ? खोल्नलाई अर्डर दिनुभएको थियो कि ? कि म नगएपछि सल्लाह नै सल्लाह नै भएन कि ? नेम्वाङ जिवित हुन्जेल ति कुरा मेरा मनमा आएनन् तर अहिले यी प्रश्नहरु मेरो मनमा आइरहेका छन् ।