अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङलाई सम्झिँदै अध्यक्ष ओलीले भन्नुभयो: अझै पत्यार लागेको छैन, देशले असल नेता गुमायो

नेम्वाङलाई सम्झिँदै अध्यक्ष ओलीले भन्नुभयो: अझै पत्यार लागेको छैन, देशले असल नेता गुमायो


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उहाँको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताउनु भएको छ। नेम्वाङको सोही राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा रहको अध्यक्ष ओलीको भनाइ छ। 

मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेम्वाङको लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेको भन्दै उहाँबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नभयो, ‘उहाँ वेइमान हुनुभएन, उहाँ देशप्रति असाधारण निष्ठा थियो। देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन । असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन।’

अध्यक्ष ओलीले सुवास नेम्वाङको निधन भएको अझै पत्यार नलागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ। अझै पत्यार नभएको जस्तो स्थिति भएको छ।’

लोकतान्त्रिक आन्दोलन, संसदीय भूमिका, संविधान निर्माण लगायतका प्रश्नमा नेम्वाङको भूमिका उच्च रहेको बताउनुभयो। अध्यक्ष ओलीले नेम्वाङको निधनपछि एमालेले असाधारण क्षती बेहोरेको र देशले असल नेता गुमाएको बताउनुभयो । उहाँले नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भूमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको बताउनुभयो।

नेम्वाङ आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने व्यक्ति भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्ति हो, मनदेखि आदरभाव उर्लिएर आउँछ। आधारभूत गुणमा कहीँ खोट नभएको व्यक्ति ।उहाँले अवसर पाउँदा, जिम्मेवारी पाउँदा कुशलताका साथ सफलतामा पुर्‍याउनुभयो ।’

अध्यक्ष ओलीले नेम्वाङ सभामुखका लागि त्यतिबेला योग्य व्यक्ति भएको बताउनु भयो ।

उहाँले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादव र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाजीलाई संविधान जारी नगर्न दबाब दिएको बताउनु भयो।