अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा को को छन् आकांक्षी ?

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा को को छन् आकांक्षी ?

बागमतीको नेतृत्व सर्वसहमतिले चयन हुन्छ : उपसचिव बर्तौला 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश अधिवेशन नजिकिँदै छ । अधिवेशन नजिकिएसँगै अध्यक्षका आकांक्षीको पनि दोडदुप सुरु भएको छ । 

एमाले बागमती प्रदेशको अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । 

अधिवेशनका लागि प्रदेशका १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकिएको छ । एमाले प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाका अनुसार प्रतिनिधिको संख्या १२ सय ५० हाराहारीमा पुगेको छ । 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । 

संघीय राजधानी समेत रहेकाले बागमती प्रदेशको नेतृत्व एमालेका लागि रणनीतिक महत्वको छ ।

प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएकाले  पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् ।

हालसम्म प्रदेश अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवं बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिनुभएको छ । यस्तै चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीले पनि अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । 

एमाले बागमती प्रदेश कमिटीका उपसचिव बर्तौलाले भने बागमतीको नयाँ नेतृत्व सर्वसहमतिले चयन हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘नेतृत्वका लागि धेरै नेताहरुले आकांक्षा देखाउनुभएको छ । तर यहाँ सर्वसहमतिले नै नेतृत्व चयन हुन्छ । अहिले अध्यक्षमा आकांक्षी देखाउनु स्वभाविक हो ।’ 

एमाले लुम्बिनी प्रदेशमा भने नेतृत्वका लागि निर्वाचन भएको थियो । बागमतीमा पनि निर्वाचन हुने नेताहरुले बताउने गरेको छन् ।