अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षका दाबेदार कैलाश ढुङ्गेलको राजनीतिक पृष्ठभूमि ?

एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षका दाबेदार कैलाश ढुङ्गेलको राजनीतिक पृष्ठभूमि ?


काठमाडौँ–नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ।

काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट भोलि उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अधिवेशनमा १ हजार १३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । 

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चारजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ।  एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् । 

नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनबाट निर्वाचित हुने प्रदेश अध्यक्षको व्यापक चर्चा सुरु भएको छ। प्रदेश अध्यक्षको लागि नेकपा एमालेका केन्द्रीय सदस्यहरूले नै दाबी गर्न लागेपछि अध्यक्षको चर्चा थप बढेको हो।

बागमती प्रदेश अध्यक्षमा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेले, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, रचना खड्का लगायतका नेताको नाम चर्चामा छ। यसैगरी हालका प्रदेश अध्यक्ष केशव पाण्डे पनि अध्यक्षका दाबेदार हुनुहुन्छ। 

प्रदेश अध्यक्षको दाबी गर्ने केन्द्रीय सदस्य मध्ये ढुङ्गेल रामेछापका हुनुहुन्छ भने दाहाल मकवानपुर, श्रेष्ठ काठमाडौं र खड्का दोलखाका हुनुहुन्छ । हालका प्रदेश अध्यक्ष पाण्डे नुवाकोटका हुनुहुन्छ। 

अधिवेशनमा नेताहरूले नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको भए पनि पार्टी नेतृत्व भने भरसक सर्वसम्मतिबाट नै अध्यक्ष बनाउने कसरतमा जुटेको छ। सहमति जुटाउने प्रयासमा पार्टी नेताहरू लाग्नुभएको छ। 

आफू भन्दा पछिका नेताहरू पोलिटब्युरो सदस्य हुँदा गएको पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए पनि ढुङ्गेल पोलिटब्युरोमा अटाउन सक्नु भएन । पार्टी संकटमा पर्दा सतिसाल जस्तै अडिग भएर उभिने, प्रखर प्रष्ट वक्ता भएको कारण उहाँको सम्मान र कमजोर रहेको वाग्मती प्रदेशको पार्टी संगठनलाई व्यवस्थित गर्न ढुङ्गेललाई सर्वसम्मत पार्टीकाे प्रदेश अध्यक्ष बनाउने तयारीमा नेताहरू जुटेका छन्। 

नेता ढुङ्गेलले औपचारिक रूपमा अध्यक्ष लड्ने घोषणा गरिन सक्नु भएको भए पनि प्रदेश निर्वाचनमा गएका प्रतिनिधिहरूले उहाँलाई अध्यक्ष बनाउनु पर्ने भन्दै प्रचार सुरु गरिसकेका छन् । नेतृत्व पङ्क्ति पनि उहाँलाई सर्वसम्मत बनाउने कसरतमा लागेको छ। ढुङ्गेल पनि अनौपचारिक छलफल र भेटघाटमा जुट्नु भएको छ। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सहमतिबाट नै प्रदेशको नेतृत्व टुङ्ग्याउने प्रयासमा लाग्न निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले यस अघि लुम्बिनी प्रदेशको अधिवेशनमा समेत सहमतिबाटै नेतृत्व टुङ्ग्याउन निर्देशन दिनुभएको थियो। 

 कैलाशप्रसाद ढुङ्गेलकाे राजनीतिक पृष्ठभूमि ?

रामेछापको तत्कालीन पकरबास गाविसमा २०१६ सालमा जन्मनुभएका कैलाशप्रसाद ढुङ्गेल २०३५–०३६ सालको विद्यार्थी आन्दोलनदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको पुराना नेता हुनुहुन्छ। उहाँ त्यतिबेल रामेश, मञ्जुल लगायत रहनुभएको संकल्प परिवारसँग जोडिनुभएको थियो। विद्यार्थी आन्दोलनसँगै तत्कालीन नेकपा मालेको जिम्मेवारीमा समेत उहाँ हुनुहुन्थ्यो। 

२०३९ सालमा नेकपा मालेको जिल्ला पार्टी सक्रिय दलको नेतृत्व गर्दै ढुङ्गेल रामेछापमा पार्टीको पहिलो सचिव बन्नुभयो । उहाँ युवा संघ रामेछापको संस्थापक अध्यक्ष र केन्द्रीय सदस्य बन्नुभयो। ढुङ्गेलले पूर्णकालीन भूमिगत भई रामेछाप र मोरङमा पार्टीको विभिन्न जिम्मेवारी लिएर काम गरिसक्नु भएको छ। मोरङमा रहँदा तत्कालीन माले र पछि नेकपा एमालेका महासचिव मदन भण्डारीसँग काम गर्नुभएकोले ढुङ्गेल जनताको बहुदलीय जनवादको व्याख्याता, रक्षक र प्रचारकको रूपमा परिचित हुनुहुन्छ। 

नेता ढुङ्गेल पञ्चायत कालमा भूमिगत अवस्थामा पक्राउ पर्नुभयो र २० महिना भद्रगोल जेलमा बस्नुभयो । दर्जनौँ पटक हिरासतमा बस्नुभयो । 

२०४८ सालपछि ढुङ्गेलले रामेछापमा चार पटक पार्टी नेतृत्वमा रहेर काम गर्नुभयो।  २०५४ सालमा तत्कालीन पकरबास गाविसको अध्यक्ष हुँदै जिल्ला विकास समिति रामेछापको सभापति बन्नुभयो।   

२०६४ र २०७० सालमा ढुङ्गेल एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभयो । तर चुनावमा पराजय बेहोर्नु पर्‍यो।  उहाँ २०७४ सालमा रामेछाप प्रदेश सभा ख बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयो  र वाग्मती प्रदेश सरकारको संस्थापक आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभयो।   

लगातार ४० वर्ष भूगोलमा बसेर पार्टीको काम गर्नुभएका ढुङ्गेल अहिले पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ। फेरी पनि वाग्मती प्रदेशको भूगोलमा रहेर काम गर्ने गरी उहाँ प्रदेश अध्यक्षका दाबेदार नेता मध्ये सशक्त दाबेदार हुनुहुन्छ। 

आफ्नो जीवन नै पार्टी भएको र पार्टीलाई नै जीवन दिएकोले पार्टीले दिने जुनसुकै जिम्मेवारीमा बसेर काम गर्ने ढुङ्गेलले बताउनुभयो। प्रदेश अधिवेशनका प्रतिनिधि र समयको मागलाई हरेर आफूलाई प्राप्त हुने जिम्मेवारी जिम्मेवार हिसाबले पूरा गर्ने उहाँको भनाइ छ।