अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश अधिवेशनमा प्यानल बनाए उम्मेदवारी खारेज गर्ने अध्यक्ष ओलीको चेतावनी

प्रदेश अधिवेशनमा प्यानल बनाए उम्मेदवारी खारेज गर्ने अध्यक्ष ओलीको चेतावनी


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समूह बनाएर चुनाव नगर्न बागमती प्रदेशका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

सोमबार काठमाडौँमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमै अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिनुभयो । उहाँले प्यानल बनाएर चुनाव गर्न रोक लगाउनु भएको हो।

उहाँले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भन्नुभयो, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन। मिल्नु सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास हो।’

देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने अध्यक्ष ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ। लड्नुुस्। लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस् । प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुन सक्छ।’ 

उहाँले अध्यक्ष मण्डललाई त्यो अथोरिटी राखेर काम गर्न पनि निर्देशन दिनुभयो। ‘प्यानलमा होइन व्यक्ति लड्छ। प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौ, बन्द गर्नुस्’, ओलीले निर्देशन दिनुभयो।

उहाँले सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने एमालेको परम्परा रहेको भन्दै समूहबन्दी भने गर्न नपाउने बताउनु भयो । उहाँले एमालेमा चुनाव लडछु भन्नेले चुनाव लडन पाउने भन्दै अध्यक्ष ओलीले उम्मेदवार बन्नुअघि कार्यकर्तासामू आफ्नो ब्यवहार कस्तो छ भनेर हेर्न पनि सुझाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सुदृढ राष्ट्रिय शक्ति निर्माणमा जुटेको सवल, सक्षम एमालेको यो अधिवेशनबाट सवल र सक्षम नेतृत्व चयन होस् ।’

एमाले बागमतीमा अहिलेसम्म चार जना अध्यक्षका दावेदार देखिनु भएको छ। मकवानपुरका कृष्ण दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ र वर्तमान प्रदेश अध्यक्ष केशव पाण्डे अध्यक्षमा दावी गरिरहनु भएको छ।