अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको बढ्दो लोक प्रियताका कारण चौतर्फी घेराबन्दी: अध्यक्ष ओली

एमालेको बढ्दो लोक प्रियताका कारण चौतर्फी घेराबन्दी: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बढ्दो लोकप्रियताका कारण अहिले चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताउनुभएको छ। 

शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले रुचाएकै कारण अहिले एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउनुभयाे। उहाँले ती सबै षडयन्त्र र घेराबन्दी तोडेर अघि बढेको बताउनुभयो। एमालेले सुरु गरेको समृद्धि र विकासको अभियानबाट आत्तिएकाले एमाले विरुद्ध अनेक षडयन्त्र गरेका ओलीको भनाइ छ। 

एमाले तीन वर्षमा गरेको विकासमा काम देखेर विश्व चकित परेको उहाँले बताउनुभयो। एमालेले बालबालिका युवा, महिला, ज्येष्ठ नागरिक सबै हितमा काम गरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो ।

एमालेबाट आत्तिएर सानातिना खुद्रा पसल बन्द भएपछि विरोधीहरू एमाले विरुद्ध एक भएको उहाँले टिप्पणी गर्नुभयो। प्राकृतिक र सांस्कृतिक हिसाबले निक्कै अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै ओलीले अब त्यो अभिभारा पूरा गर्ने बताउनुभयो । कोशी प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ। 

कोशी प्रदेशमा पनि एमाले विरुद्ध अनेक घेराबन्दी गरिएको भए पनि त्यो सफल हुन नसकेको ओलीले बताउनुभयो । ‘अनेक घेराबन्दीका बीच कोशी प्रदेशमा एमाले अघि छ’, उहाँले भन्नुभयो।  

गठबन्धनका कारण देश बरबादी तर्फ उन्मुख भएको ओलीले बताउनुभयो । तथापि एमालेको सरकारमा जाने र सरकार बनाउने कुनै योजना रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले मिसन २०८४ मा लागेको बताउँदै ओलीले २०८४ मा एमाले बहुमतको सरकार बनाउने उहाँले दाबी गर्नुभयो।