अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को हुन् एमाले कर्णालीको अध्यक्षमा निर्वाचित गुलावजंग शाह ?

को हुन् एमाले कर्णालीको अध्यक्षमा निर्वाचित गुलावजंग शाह ?


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलाबजंग शाह निर्वाचित हुन भएको ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित हुनु भएको छ। शाहीले २०७ मत मात्र पाउनु भयो। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गर्नुभयो।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुनुभएको छ। उहाँले ३४२ मत प्राप्त गर्नुभयो।  उहाँका निकटतम् प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गर्नु भयो।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गर्नुभयो।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याउनु भयो। त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याउनु भएको छ।

को हुन् अध्यक्ष शाह ?
२०४० सालबाट अनेरास्ववियु पाँचौंमा आवद्ध भएर राजनीतिमा होमिएका शाह हाल पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा छन्। २०५६ मा तत्कालीन नेकपा एमाले विभाजनपछि बनेको नेकपा मालेमा आबद्ध भएका उनी मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बन्नुभयो।

२०५७ मा तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुग्नुभयो। उहाँ एमालेको ९औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयाे।

शाह २०७४ मा तत्कालीन नेकपा माओवादीसँग बनेको वामगठबन्धका तर्फबाट सल्यान क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट  पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका नेता हुन्। 

एमाले संसदीय दलको प्रमुख सचेतक रहेका शाह तत्कालीन नेकपाको पनि प्रमुख सचेतक नै रहे।

गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सल्यान क्षेत्र नम्बर १ (ख) बाट संसदीय निर्वाचनमा होमिएका शाह नेपाली कांग्रेसका सुरेश अधिकारीसँग पराजित हुनु भएको थियो ।