अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी प्रदेशको नेतृत्व छान्न भाेलि मतदान, अध्यक्षमा शर्मा र अधिकारीबीच प्रतिस्पर्धा

एमाले गण्डकी प्रदेशको नेतृत्व छान्न भाेलि मतदान, अध्यक्षमा शर्मा र अधिकारीबीच प्रतिस्पर्धा


कास्की-नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार (भाेलि) बिहान मतदान हुने भएको छ। यसअघि बुधवार साँझ मतदानको कार्य तालिका रहे पनि दिनभर पानी परेकाले मतदानको समय बिहीबारलाई सार्नुपरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयाे।

प्रमुख निर्वाचन अधिकृत थापाले भन्नुभयो, ‘मतदानका लागि आज तय भएको कार्यक्रम भोलि मात्र हुने भयो। आज दिनभर पानी परेर निर्वाचन कार्यक्रम प्रभावित बन्यो।’ 

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन्। 

गण्डकी प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ। शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका नवराज एमाले गण्डकीका हालका अध्यक्ष समेत हुन् भने मायानाथ एमाले केन्द्रीय सदस्य हुन्। दुबै जना विद्यार्थीकालदेखि एमालेको राजनीतिमा सक्रिय भएका थिए।

शर्मा म्याग्दीको विममा जन्मिएका हुन् भने अधिकारी लमजुङको भारतेमा। अध्यक्षका उम्मेदवार बनेका दुबै जना एमालेभित्र इमान्दार नेताका रूपमा परिचित छन्। 

विद्यार्थी राजनीति गर्दा गर्दै शर्मा २०४२ सालमा अनेरास्ववियु म्याग्दीको अध्यक्ष बन्न भएको थियो। विद्यार्थी राजनीतिमा रहँदै उहाँले २०५४ सालको जिल्ला विकास समिति सभापति निर्वाचन जित्नभयो।

लमजुङका अधिकारी भने विद्यार्थी राजनीति हुँदै पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर काभ्रे पुगे। २०४४ सालमा पार्टीको काभ्रे प्रमुख बने । 

२०४६ सालको आन्दोलनमा शर्माले म्याग्दीमा बसेर तत्कालीन धौलागिरी अञ्चलमा सक्रिय थिए भने अधिकारी काभ्रेबाट सरुवा भएर सिन्धुपाल्चोकमा पार्टी प्रमुख र बागमती कमिटीको सदस्य बने। २०४६ सालको आन्दोलन पूरा भएपछि मात्र अधिकारी गण्डकीको भूगोलमा राजनीति गर्न आइपुगेका थिए ।

एमाले गण्डकीको सदस्य बनेर अधिकारी मनाङ इन्चार्ज र लमजुङको सचिवालय सदस्य बने। २०४८ मा एमाले लमजुङको पहिलो सम्मेलन आयोजक समितिका संयोजक बनेका अधिकारी सम्मेलनमार्फत जिल्ला उपसचिवमा निर्वाचित भए।

जिल्ला विकास समिति सभापतिको भूमिका पाएपछि शर्मा पार्टी राजनीतिमै सक्रिय भए। धौलागिरीका चार जिल्ला पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा उनी पार्टी संगठन निर्माण गर्दै हिँडे। पार्टी काम गर्दागर्दै उनले २०७० को संविधान सभा निर्वाचन जिते। 

यता, लमजुङका अधिकारी २०५४ सालमा एमाले लमजुङ प्रमुख बने। त्यसपछि लगातार तीन कार्यकाल उनी एमाले लमजुङका प्रमुख बने। २०६४ को पहिलो संविधान सभा निर्वाचन लडे पनि अधिकारीले चुनाव जित्न सकेनन् ।