अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकीको नयाँ नेतृत्व चयनका लागि मतदान हुन सकेन  

एमाले गण्डकीको नयाँ नेतृत्व चयनका लागि मतदान हुन सकेन  

प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न बाँकी


काठमाडौँ–नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुन सकेको छैन । प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न नसिएपछि मतदानमा ढिलाइ भएको हो । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि मतदान हुने भनिएको थियो । तर अझै पनि प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न सकिएको छैन ।  

एमाले गण्डकीको अधिवेशनका लागि ९०७ जना प्रतिनिधि चयन हुनुभएको छ । उहाँहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला उपसचिवसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नुहुनेछ । विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्ने छैन ।  

गण्डकी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीको उम्मेदवार परेको छ । उहाँहरू दुवै प्यानलसहित मैदानमा उत्रिनुभएको हो । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई  स्थायी कमिटी सदस्य खगराज अधिकारीले साथ दिनुभएको छ ।  

अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, महिला उपसचिवमा मीना गुरुङ र अर्को उपसचिवमा  सन्तोष रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलले  साथ दिनुभएको छ । 

शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मञ्जु अधिकारी र अर्को उपसचिवमा दामबहादुर विकले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

शर्माको समूहलाई उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ, सचिव पद्या अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले साथ दिनुभएको छ ।