अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन: गोकर्ण विष्ट

अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन: गोकर्ण विष्ट


काठमाडौंनेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ। उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको प्रष्ट पार्नुभयो। 

व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ। उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ। जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिष्पर्धा हुनेकुरा स्वाभाविक भएको उहाँले बताउनुभयो।

त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो। आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको बताउनुभयो। उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको चर्चा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरूले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ।’

त्यस्तै, अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो। उहाँले यसलाई नेताहरूसँग जोडेर बुझ्न नहुने बताउनुभयो। उहाँले सहमतिका निम्ति प्रयत्न गरे पनि सफल हुन नसकेको बताउनुभयो।

मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ।

सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ। अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्। १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ।