अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीडितको आँसु पुछ्दै प्रभावित गाउँ छिर्‍यो एमाले 

पीडितको आँसु पुछ्दै प्रभावित गाउँ छिर्‍यो एमाले 


जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका पिडितहरुको साहारा बन्न नेकपा (एमाले) को टोली जिल्लाका दुर्गम गाउँ छिरेको छ । 

 चिकित्सक सहितको टोलीले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवार र अन्य पिडिंतहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन सुरु गरेको टोलीका प्रमुख नेकपा (एमाले)का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । 

भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहतका अनेक कुरा गरेपनि जिल्लाका दूरदराजमा सरकारी टोली समेत नपुगेको बेला चिकित्सक सहितको राहत टोली गाउँ पुग्ने एमाले पहिलो भएको नलगाड नपगरपालिका–३ की यमुना पुनले जानकारी दिनुभयो । सुक्रबारको बिनाशकारी भुकम्पमा आप्mना श्रीमान् गुमाएर विक्षिप्त अवस्थामा रहनु भएकी पुनका अनुसार भूकम्प गएको तीन दिन बित्दा समेत गाउँमा आफूकहाँ आउने टोली एमालेको पहिलो हो । 

‘रेडियो र नेटमा प्रधानमन्त्रीदेखि को धेरै नेताहरु पिडिंतलाई खोज्दै आउनुभएको कुरा सुनिन्छ तर हामीकहाँ आउने त हजुरहरु पहिलो टोली हो’, आँखाभरि आँसु झार्दै पुनले थप्नुभयो, घरमा पुरिएर उहाँ (श्रीमान्) जानुभएदेखि हाम्रो पाटाको वास थियो अब यहाँहरुले दिएको पालले आकाशका तारा हेरेर रात कट्नु नपर्ने भयो ।’

अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहनु भएका चिकित्सक डा. सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरुको स्वास्थ्य परीक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो । 

दुई दिनदेखि जाजरकोटका दुर्गम गाउँहरुका भूकम्प पिडितहरुसँग प्रत्यक्ष भेटेर सान्त्वना सहित राहत वितरण गरेको एमालेको टोली गाउँ जाने जिल्लाकै पहिलो भएको छ । 

भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहत वितरणका नाममा जिल्ला सदरमुकाममा जतिसुकै टोलीहरु आएको भएपनि जाजरकोटको सबैभन्दा बढी मानवीय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो हो, केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, ‘हामीले हरेक पीडितको घरमा गएर प्रारम्भिक स्वास्थ्य परिक्षणसहित सान्त्वना दिँदै, राहत समेत प्रदान गरेको छ ।’

सुक्रबार राती ११ः४८ मा गएको ६.४ म्याग्नेच्युटको भुकम्पमा परेर १०५ जनाको मृत्यु भएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा मात्र ५१ जनाको मृत्यु भएको थियो भने नलगाड–१ मा २५ जनाको ज्यान गएको एमाले नेता आचार्यले जानकारी दिनुभयो । विभिन्न निकायहरुसँगको समन्वयमा काठमाडौंदेखि राहत संकलन गरेर गएको एमाले टोलीले नलगाडका २६३ घरपरिवारलाई त्रिपाल, ब्लांकेट, चामल, दाल, तेल, चाउचाउ, बिस्कुट वितरण गरेको छ । 

स्थानीय तहका जनप्रतिनिधि, नेकपा (एमाले)का स्थानीय कमिटीका पदाधिकारीहरुको रोहबरमा परामर्श, स्वास्थ्य परीक्षण र राहत वितरण गरेको टोलीले तीनै तहका सरकारका प्रतिनिधिहरुले जिल्ला सदरमुकाममा मात्रै केन्द्रित हुनुभन्दा गाउँका कुनाकाप्चामा भएका पिडिंतहरुकोमा पनि पुग्न आग्रह गरे । 

‘भूकम्पको त्रासदीले पिडितहरुमा झस्कीने, बरबराउने, डराउने समस्या छ’, टोलीमा संलग्न डा. सुरज कडरियाले भन्नुभयो, ‘राहत सामाग्री सहित मनोपरामर्शका लागि चिकित्सकहरुको टोली पनि गाउँमा आउन जरुरी छ ।’

एमाले नेता आचार्यको टोलीमा काठमाडौँबाट गएका चिकित्सक सहित एमाले जाजरकोटका नेताहरु नवराज सिंह, धर्मबहादुर शाही, रिता रावल, धनबहादुर रावल, हेमन्त बुढा, सुनिता बोहोरा, दिनेश गौतम लगायतका नेताहरु संलग्न हुनुहुन्छ ।