अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका


काठमाडौँ–चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सेक्रेटरी वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव उहाँ पाँच दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।

उहाँको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । वाङले काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यसूची समेत रहेको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि चीनबाट आउन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । वाङ काठमाडौँ उत्रिएपछि आज बुधबार दिउँसो २ बजे उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि उहाँले भोलि बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्नुहुनेछ । वाङले भोलिनै अपराह्न ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।  

चिनियाँ नेता वाङ २४ कात्तिकमा गण्डकी प्रदेशको राजधानी पोखरा जानुहुनेछ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता गर्नुहुनेछ ।  सोही साँझ मुख्यमन्त्री पाण्डेले वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ । पोखरामा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

उहाँ २५ कात्तिकमा काठमाडौँ फर्केपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटमा नेपाल र तिब्बतबीच सीमा सुरक्षालगायतका विषयमा छलफल हुनेछ । सोही साँझ वाङ नेतृत्वको टोलीले नै दूतावासका अधिकारीहरू तथा नेपाली शुभेच्छुकहरूका लागि धन्यवाद ज्ञापन गर्ने रात्रिभोज आयोजना गर्दैछ ।

वाङले २६ वैशाखमा भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गर्नुहुनेछ । त्यसपछि उहाँ श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।