अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगु सामूहिक हत्याकाण्ड: लुट्ने उद्देश्यले २ जनाले बनाएका थिए हत्या योजना

मुगु सामूहिक हत्याकाण्ड: लुट्ने उद्देश्यले २ जनाले बनाएका थिए हत्या योजना

हत्यामा लुटपाटसँगै रिसिइवी


काठमाडौँ-मुगुको छाँयानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या लुटपाटको उद्देश्यले भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। हत्यामा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा मुगु प्रहरीले पिना गाउँपालिका वडा नम्बर-७ घर भएका गोर्खराज शाही ठकुरी ‘उर्फ काले’ र गोपाल बोहोरालाई पक्राउ गरेको छ।

पिना गाउँपालिका वडा नम्बर-७ घर भएका गोर्खराज शाही ठकुरी ‘उर्फ काले’ बाँकेस्थित कोहलपुरमा बस्छन्। ‘काले’ ले लुटपाट गर्ने उद्देश्यले पिना गाउँपालिका घर भएका गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘सुन र नगद लुट्ने योजनासहित हत्या गरेको देखिन्छ।’

गोपाल बोहरा अहिले छायाँनाथ रारा वडा नम्बर-६ स्थित मन्दुमा बस्दछन्। गोर्खराजले २०८० जेठ महिनामा मुगुको पिनामा गएर गोपाललाई भेटेर ‘श्रीदेवी बोहोरासँग ७-८ तोला सुन र नगद छ सो सुन र नगद लुट्नुपर्छ’ भनेर योजना बनाएका हुन् । योजना सफल पार्नका ‘काले’ कात्तिक ५ मा सुर्खेतबाट पिना गएर कात्तिक ६ मा मुगु पिनामा गोपालबहादुरको गोठमा लुकेर बसेका थिए । कात्तिक ८ मा श्रीदेवी बोहरा माइतीबाट फर्केपछि आरोपितहरूले उनको ११ वर्षको छोरा मनोज, ७ वर्षीय छोरी अप्सरा र १ वर्षीय छोरा रहरको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ।

हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २.५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताउनु भयो। हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ। हत्यापछि गोपाल बोहोरा गाउँमै बसे । गोर्खराज शाही ठकुरी सुर्खेत हुँदै नेपालगञ्जतर्फ फरार भए।

हत्यामा लुटपाटसँगै रिसिइवी

हत्याको मुख्य योजना सुन लुट्ने भए पनि रिसइवीसमेत भएको खुलेको छ। हत्यामा संलग्नमध्ये गोपाल बोहाेरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपकसँगै वैदेशिक रोजगारीमा कतार गएका थिए। तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए। 

दीपकले भने मासिक करिब एक लाख कमाएका थिए। सोही पैसाबाट श्रीमतीलाई गहना किनिदिएका थिए। जग्गा पनि जोडेका थिए। यसरी सम्पत्ति कमाएको रिसिइवीसमेत हत्याको कारण भएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन्। साथै गोपालको परिवारले ६० हजार सापटी लिएकोमा श्रीदेवीलाई २० हजार मात्र फिर्ता गरेकोसमेत अनुसन्धानमा खुलेको छ।  

श्रीदेवीले लगाउने सुनका गहना देखेपछि नै उनीहरूले गत जेठमै लुटपाट  र हत्याको योजना बनाएका थिए। योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गई गोपालको गोठघरमा बसेका थिए। गाउँलेलाई थाहा नहोस् भनेर उनी गोपालको गोठमा लुकेर बसेका थिए। 

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकको साँझमा हत्या गरी सुर्खेत पुगेका थिए।  प्रहरीले सोमबार नै गोर्खलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा गोपाल पक्राउ परेका हुन्। गोपाललाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । चार–पाँच वर्ष भारतको हिमाञ्चलमा बसेर काम गरेका शाही पछिल्लो समय कुनै पनि काममा संलग्न नभएकोसमेत अनुसन्धानमा खुलेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले स्थानीय प्रहरीसँग मिलेर घटनाको दुई सातापछि सामूहिक हत्याको सफल अनुसन्धान गरेको हो।