अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक बन्द गर्ने निर्णयकाे एमाले नेताहरूद्वारा विरोध

टिकटक बन्द गर्ने निर्णयकाे एमाले नेताहरूद्वारा विरोध

टिकटक बन्दको स्वागत गर्दै महेश बस्नेतले भन्नुभयो–युट्युब पनि तत्काल नियमन गरोस् 


काठमाडौँ–नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गर्‍यो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको थियो । 

सरकारको टिकटक बन्द गर्ने निर्णयको पक्ष विपक्षमा बहस सुरु भएको छ । सरकारको यो निर्णयमा सत्ता पक्षबाटै विरोध भइरहँदा एमालेमा भने दुई धार देखिएको छ । एमालेका अधिकांश नेताहरूले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरिरहँदा महेश बस्नेतले भने स्वागत गर्नुभएको छ । 

नेता बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गर्दै टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्न सरकारलाई सुझावसमेत दिनुभयो । 

‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ उहाँले भन्नुभएको छ ।

तर अन्य एमाले नेताहरूले भने टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गर्नु भएको छ । 

एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताउनुभएको छ । उहाँले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ, ‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ ।’

यस्तै एमाले नेता तथा प्रतिनिधिसभाका सांसद सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोक्ने तानाशाही निर्णय भएको बताउनुभएको छ । उहाँले संसद्को वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै सरकारले गरेको निर्णय तानाशाही भएको टिप्पणी गर्नुभएको हो ।  

सांसद थापाले विज्ञप्ति जारी  गर्दै  टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन माग गर्नुभयो ।

यस्तै नेता गोकुल बास्कोटाले पनि सरकारको टिकटक बन्द गर्ने निर्णयमा असहमति जनाउनुभएको छ । उहँले लेख्नुभएको छ, ‘सरकारले टिकटक बन्द गर्ने निर्णय लिएछ । स्वस्थ व्यक्तिगत मनोरञ्जन, सृजनात्मक काम गर्न पाउने र क्टेन्ट फिल्टर गर्ने कानुन बनाएर सो प्लेटफर्मले नेपालको आर्थिक कानुन मान्ने बनाएको भए हुन्थ्यो । तर बन्दै गरिदिँदा गगन–विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागेमा मेरो आपत्ति रहेन !’ 

एमाले उपमहासचिव विष्णु रिमालले टिकटक बन्द नभई नियमन गर्न आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सरकार—कन्टेन्ट ‘ब्लक’ गर्ने हैन, नियमन गर । छनौट आधारित प्लेटफर्म मात्र बन्द गर्ने हैन, अभिव्यक्तिमा नियन्त्रण पनि हैन, त्यसमा रहेको अराजकतामा नियन्त्रण गर !’

यस्तै एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल बन्द गर्दैमा समस्याको समाधान नहुने बताउनुभएको छ । उहाँले बन्द भन्दा पनि नियमन गर्न आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले लेख्नुभएको छ,’टिकटक, फेसबुक, एक्स जस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने र कार्यालय राख्ने व्यवस्था गर्नुपर्छ, जसबाट अवाञ्छित सामाग्री नियन्त्रण गर्न सकियोस् र राजश्वमा पनि योगदान पुगोस् । यिनको नियमन अति जरुरी छ । तर, बन्द गरेर समाधान सम्भव छैन । यस निर्णयबाट सरकार पछि नहटी सुखै छैन ।’

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन समेत दिएको छ ।