अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुपण्डोलस्थित वाग्मती किनारमा भव्यरूपमा मनाइयो छठ

कुपण्डोलस्थित वाग्मती किनारमा भव्यरूपमा मनाइयो छठ


काठमाडौँ-ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ। नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ।

पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूजाका लागि साँझ पूजास्थल पुग्नुभएको थियो। उहाँले छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको थियो।

यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो स्थानमा छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिनुभयो। कुपण्डोल पुलबाट पश्चिमतर्फका वाग्मती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ । पूजास्थलमा तीर्थालुको घुइँचो थियो।

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ। तराई(मधेसमा मात्र नभई मुलुकका सबै भू(भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ । छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ।

गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ।

छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। छठपर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।