काठमाडौँ-इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ । यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन् ।
इजरायलको मन्त्रिपरिषद्मा बन्दी रिहाइका लागि हमाससँगको जारी युद्ध रोक्नेबारे मतदान भएको थियो । प्रस्तावित चार दिने युद्ध विरामलाई मन्त्रिपरिषद्ले पारित गरेको हो । कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ ।
युद्धविराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ । पहिलो चरणमा ५० जना रिहा हुने छन् । नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ ।
त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो । यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने बन्धक रिहाइ पछि पनि युद्ध जारी रहने बताएका छन् । बन्धकको रिहापछि युद्ध रोकिने भनेर चर्चा भइरहेको प्रति खण्डन गर्दै उनले लक्ष्य हासिल नहुञ्जेल युद्ध जारी रहने जिकिर गरेका छन् । उनले हमासद्वारा बन्धक बनाइएकाहरुलाई फर्काउनु आफ्नो महत्त्वपूर्ण लक्ष्यमध्ये एक भएको उल्लेख गर्दै हमासको सफाया पनि महत्त्वपूर्ण अर्को लक्ष्य भएको जनाएका छन् ।
फेरि इजरायलका लागि खतरा हुने कुनै पनि शक्तिलाई निमिट्यान्न नपारेसम्म गाजामा केही नछाड्ने उनको प्रतिबद्धता छ ।
इजरायल र हमासबीचको युद्ध ४७ औं दिनमा पुग्दा दुवैतर्फ करिब १५ हजार व्यक्तिको ज्यान गएको छ । तीमध्ये इजरायली आक्रमणमा गाजा क्षेत्रमा मारिने बालबालिकाको संख्या ५ हजारभन्दा बढी पुगेको छ । एजेन्सी
प्रतिक्रिया