अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर हुन सक्दैन: अध्यक्ष ओली

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर हुन सक्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताउनुभएकाे छ। 

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको उहाँले बताउनुभयाे। 

उहाँले भन्नुभयाे, ‘हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ। त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ। देशको लागि खतरनाक कुरा यही छ।’

उहाँले भन्नुभयाे, ‘सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन। मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन।’

अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभएकाे छ। देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उहाँको भनाइ छ।

पार्टी केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयाे, ‘अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु।’

यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ।

आन्दोलनका केही शर्त रहेको भन्दै ओलीले भन्नुभयाे, ‘हामी हिंसाको बाटो हिँड्दैनौं। शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन।’ त्यसपछि लिडरसिपको विभिन्न तहमा छलफल गर्ने एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताउनुभयाे।