अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन, सत्ताको रक्षमा केन्द्रित: अध्यक्ष ओली

गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन, सत्ताको रक्षमा केन्द्रित: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन, सत्ताको रक्षमा केन्द्रित रहेको बताउनु भएको छ।

बुधबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएकाे हाे।

अध्यक्ष ओलीले नेकपा एमाले कुनै पनि छिमेकीसँग झगडा गर्ने सोचमा नरहेको प्रष्ट पार्नुभयो । छिमेकीसँग आत्मसमर्पण गरेर सम्बन्ध सुधार नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रा छिमेकीसँगको वैमनुष्यता हाम्रो देशको हितमा छैन, हामी हाम्रा छिमेकीसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ।’

अहिले देशको स्वाधीनता अपहेलित, अपमानित र तिरस्कृत भएको ओलीले बताउनुभयो। अढाई वर्षको बीचमा यो परिस्थिति निर्माण भएको ओलीको भनाइ छ। यस अवधिमा राष्ट्रिय गौरव, हित र सम्मान ओझेलमा परेको बताउनुभयो।

अध्यक्ष ओलीले देशमा जसरी द्वन्द्वको समाधान हुनु पर्थ्यो सो अनुसार हुन नसकेको बताउनुभयो। अनुचित कुराले बढी स्थान पाउँदा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको ओलीको भनाइ छ। 

आमजनतासँग भेटघाट र जनतालाई सचेत गराउन एमाले मध्यपहाडी पुष्पलाल मार्ग सचेतना अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गर्न लागेको ओलीले बताउनुभयो ।

त्यस्तै मध्यपहाडमा भएको विकासको अवलोकन गर्न पलायन भएको युवा शक्तिलाई गाउँमा नै बस्न उत्प्रेरित गर्न सो अभियानले सहयोग गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो। यसको साथै त्यहाँका स्रोत, साधनको अवस्था, पर्यटकीय सम्भावना लगायतको अवलोकन पनि सो यात्राका क्रममा हुने ओलीले बताउनुभयो।