काठमाडौँ–जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँ नेतृत्वलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको जनाएको छ । प्रशासनले हिजो एक विज्ञप्ति जारी गर्दै अनुमति बिना जर्वजस्ती कार्यक्रम गरे कारबाही गर्ने चेतावनी समेत दिएको हो ।
बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेको प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको जानकारी गराउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ ।’
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरीतका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नहुन प्रशासनले जानकारी गराएको छ ।





प्रतिक्रिया