अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टिप्पणी: सरकार पूरै असफल भइसक्यो, गठबन्धनलाई लाज नहुने रहेछ

अध्यक्ष ओलीको टिप्पणी: सरकार पूरै असफल भइसक्यो, गठबन्धनलाई लाज नहुने रहेछ


बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार पूरै असफल भइसकेको बताउनु भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार असफल भइसकेको बताउनु भएको हाे।

अध्यक्ष ओलीले भन्नुभयो, ‘वर्तमान सरकार असफल भएसक्यो ।अनेक असफलता भोग्दा पनि गठबन्धनलाई लज्जाबोध हुनु पर्ने हाे, तर लाज पचाएर बसेकाे छ। गैरजिम्मेवार र इमान नभएर सरकारमा बसेको छ। नत्र राजीनामा गरेर घर जानुपर्ने हो। लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ।’

यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने अध्यक्ष ओलीले बताउनु भयो। ‘यस अवस्थाको रक्षा नेकपा एमालेले गर्छ’, ओलीले सन्देश सभाका क्रममा भन्नुभयो।

अहिलेको सरकार देशको भूमिबारे बोल्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ।’

अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रसहित अघि बढाउन आवश्यक रहेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ।’ 

नेपालमा प्राविधिक र मेडिकल कलेज खोल्न नदिने शैक्षिक माफियाहरू अहिले क्रियाशील रहेका ओलीले बताउनुभयो। मेडिकल कलेज नेपाल खोल्नु पर्छ र नेपालाई मेडिकल हब बनाउनुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको ओलीले बताउनुभयो । नेपालको हावापानी मेडिकल कलेजको लागि अति उपयुक्त भएको उहाँले दाबी गर्नुभयो ।

चटकेहरुले अनेक चटकी कुरा गर्न सक्ने भन्दै त्यसको भर नपर्न उहाँले आग्रह गर्नुभयो । नेकपा एमाले गलत ढङ्गले होइन सही हिसाबले राजनीति गर्नुपर्छ र देशको विकास, समृद्धिका काममा लाग्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमालेले आफ्नो स्वार्थको लागि राष्ट्रियताको विषयलाई कहिल्यै पनि दाउमा नराख्ने उहाँले बताउनुभयो ।

झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको छ। एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतलाई बागलुङमा स्वागत गरिएको छ।