अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पष्ट भइसक्यो, एमालेबाहेक कसैले देश बनाउन सक्दैन: अध्यक्ष ओली

स्पष्ट भइसक्यो, एमालेबाहेक कसैले देश बनाउन सक्दैन: अध्यक्ष ओली


लमजुङ-नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले देश बनाउन नसक्ने दाबी गर्नुभएको छ।

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा लमजुङको सुन्दरबजारमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले देश अहिले झन् सङ्कटतिर गएको बताउनु भयो। नेतृत्वको असक्षमताका कारण देश ओरालो लागेको उहाँको भनाइ छ।

‘एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन भन्ने त स्पष्ट भइसक्यो। जनताको समस्या समाधानमा सरकारको ध्यान छैन’ अध्यक्ष ओलीले भन्नुभयो, “अहिले देखिएको अवस्थामा सुधार ल्याउन एमालेको एकल बहुमत आवश्यक पर्छ।’ 

अध्यक्ष ओलीले अरु सरकारले एक वर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो। अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो। तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ।’

उहाँले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दाबी गर्नुभयो । ‘एमाले देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो। त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ। अहिलेका तत्कालिक समस्याहरूको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामीबाहेकका अरु त एकजुट भएर लागेकै छन् नि,’ अध्यक्ष ओलीले भन्नुभयो।