अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्रासँगै मुलुकको राजनीतिले नयाँ बाटो लिन्छ : महासचिव पोखरेल

मध्यपहाडी यात्रासँगै मुलुकको राजनीतिले नयाँ बाटो लिन्छ : महासचिव पोखरेल


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी यात्रासँगै मुलुकको राजनीतिले नयाँ बाटो लिने बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले मध्यपहाडी यात्रासँगै मुलुकको राजनीतिले नयाँ दिशा समात्न सफल हुने अपेक्षा बढेको उल्लेख गर्नुभएको हो । 

उहाँले भन्नुभयो,’मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको अपरिहार्यतालाई यस यात्राले पुष्टि गरेको छ । देश जोड्ने र देश बनाउने उद्देश्यमा यो यात्रा कोषेढुंगा साबित हुनेछ ।’

महासचिव पोखरेलले समृद्धिका लागि संकल्प यात्राप्रति नागरिकले देखाएको समर्थन र सद्भाव  अभूतपूर्व रहेको बताउनुभयो । यसले यात्राको उद्देश्यलाई सार्थक बनाएको उहाँको भनाइ छ । 

 महासचिव पोखरेलको भनाइ:

निश्चित ठाउँमा कार्यक्रम गर्ने योजनासहित समृद्धिका लागि संकल्प यात्रा थालिएको थियो । बिहान ८ बजेदेखि कार्यक्रम सुरु गर्ने र पाँच बजे वासस्थान रहेको ठाउँमा पुग्नेगरी योजना बनेको थियो । तर सुरुको दिनदेखि नै निर्धारित गरिएको भन्दा अतिरिक्त स्थानमा जनताको स्वतःस्फुर्त सहभागिताले कार्यक्रम लम्बिने स्थिति बन्यो । पहिलो र दोस्रो दिन एकआध घण्टा ढिला भएपनि सहज नै भएको थियो । तेस्रो दिनदेखि कार्यक्रममा चाप बढ्दै गयो । क्रमशः रातको सात, आठ र आज नुवाकोटमा आइपुग्दा त्यो रातको १०:३० बजेसम्म कार्यक्रम गर्नुपर्ने परिस्थिति सिर्जना भयो । यो परिस्थिति यात्रा टोलीले समयलाई ख्याल नगरेको कारणले सिर्जना भएको होइन । बाटोमा स्वागतका लागि लामो समयदेखि प्रतीक्षा गरेर बस्नुभएका नागरिकलाई उपेक्षा गरेर यात्रा अघि बढाउनु उपयुक्त नहुने ठानेर त्यसो भएको हो । समृद्धिका लागि संकल्प यात्राप्रति आम नागरिकले जुन प्रकारको समर्थन र सद्भाव देखाउनु भएको छ त्यो अभूतपूर्व छ । वास्तवले यसले यात्राको उद्देश्यलाई सार्थक बनाएको छ । मुलुकको राजनीतिले यो यात्रासँगै नयाँ दिशा समात्न सफल हुने अपेक्षा बढेर गएको छ । मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको अपरिहार्यतालाई यस यात्राले पुष्टि गरेको छ । देश जोड्ने र देश बनाउने उद्देश्यमा यो यात्रा कोषेढुंगा साबित हुनेछ । जनताको साथ, समर्थन, सद्भाव हाम्रो लागि ऊर्जाको श्रोत हो । यसप्रति सम्पूर्ण जनसमुदाय, दाजुभाइ दिदीबहिनीहरू, युवा विद्यार्थी, महिला, किसान, मजदुर, उद्योगी व्यवसायी, पेसाकर्मी सबै तह र तप्काका  नागरिकहरूप्रति हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछ । यात्राका बाँकी ठाउँहरूमा अहिले भन्दा अझ बढी माया र सद्भाव प्राप्त हुने अपेक्षा हामीले राखेका छौँ।