अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु स्वभाविकै हो: अध्यक्ष ओली

एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु स्वभाविकै हो: अध्यक्ष ओली


नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु स्वभाविक भएको बताउनुभएको छ।

मध्यपहाडी लोकमार्ग विशेष अभियान झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत आइतबार नुवाकोटको बट्टारमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएका बताउनुभयो। आफू नेतृत्वको सरकारको साढे ३ वर्षको अवधिमा असाधारण काम गरेको उहाँले स्मरण गर्नुभयो।

नुवाकोटबाट चीनसँगको आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग बनाउने लगायत योजना आफूहरुले अगाडि सारेको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले, ‘गल्छी-मैलुङ-रसुवागढी बाटो बनाउने काम थाल्यौं, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सार्‍यौं, २४ किलोमिटर स्याप्रुबेसी-बेत्राबतीखण्डलाई पनि सुरुङ बनाएर काम गर्न योजना अघि सार्‍यौं, त्यसले रेलमार्गका लागि सहज बनाउँछ, काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ, हामीले भारतसँग पनि कुरा गर्‍यौं, रक्सौल(काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको छ, हामी सरकारमा छैनौं त्यकारण केही बिलम्ब भएको छ, हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो, जसले जति सक्छ त्यति न गर्छ ।’

अहिलेको सरकारले सक्नेजति गरीराखेकै होला भन्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘तर सक्ने अवस्था नहुँदा त्यस्तो भएको होला, हामीले साढे ३ वर्षको अवधिमा असाधारण काम गरेका थियौं।’

एमाले नेतृत्वको सरकारले मध्यपहाडी राजमार्ग जहाँसम्म पुर्‍याएको थियो त्यहीसम्म पुगेर कामको गति रोकिएको पनि उहाँले बताउनुभयो । ‘केही खण्ड हेर्नै आएका हौं हामी, २१ किलोमिटर त ट्रयाक त बनाइएको रहेनछ, त्यसमध्ये १८ किलोमिटर अहिले वनले स्वीकृति दिएर अब बन्ला कि भनेर भनेर आशा पलाएको रहेछ, ३ किलोमिटरको अझै कहाँबाट ट्रयाक जाने भन्ने टुंगो छैन, अनिश्चितता छ, यो बाटो अबिलम्ब बन्नुपर्छ, जनताको असुविधासँग मात्र होइन यहाँको आर्थिक उन्नती र विकास सबैसँग जोडिएको छ।’