अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र ध्वस्त भयो: अध्यक्ष ओली

एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र ध्वस्त भयो: अध्यक्ष ओली


नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभएको छ।

एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो। नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो।

अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताउनुभयो। यही सन्देश लिएर नेकपा एमालेले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो। यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै ओलीले धन्यवाद व्यक्त गर्नुभयो।

एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरेका उहाँले बताउनुभयो। जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

अहिले एनसीएल कम्पनी प्रकरणमा ठुला आर्थिक अपराधको काम भइरहेको ओलीले टिप्पणी गर्नुभयो। २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताउनुभयो। ‘खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ’, ओलीले भन्नुभयो।

देशलाई कंगाल बनाएर केही मानिसले ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न ओलीले सरकारलाई आग्रह गर्नुभयो। यो खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो।

सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको ओलीले टिप्पणी गर्नुभयो। सकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो। ‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर छिराइएको छ, त्यहाँका कर्मचारीलाई संलग्न बनाएर गरिएको छ’, उहाँले भन्नुभयो।

वर्तनमा गठबन्धन सरकार निकम्मा भएकोले सरकारमा बस्ने हैसित नरहेको उहाँले बताउनुभयो। यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उहाँले भन्नुभयो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।