अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासका सम्भावना पहिल्याउन मध्यपहाडी यात्रा

विकासका सम्भावना पहिल्याउन मध्यपहाडी यात्रा


हिजोबाट हामीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा एउटा अभियानका रूपमा सुरू गरेका छौं। आज हामी यहाँ आइपुग्दा हिजोदेखि आजसम्म हामीले जुन उत्साहपूर्ण साथ समर्थन सुदूरपश्चिमका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूबाट प्राप्त गरेका छौं।

एमाले सरकारबाट हटेपछि अन्यौल र अस्थिरता बढ्यो
यहाँहरूले यस अभियानको अर्थ, मर्म बुझ्नु भएको छ भन्ने मलाई लाग्छ। आज देश राजनीतिक हिसाबले, सामाजिक हिसाबले, आर्थिक हिसाबले र सांस्कृतिक हिसाबले ओरालो लागिरहेको छ। नेकपा एमाले सरकारबाट हटाइएपछिको अढाइ वर्षमा देशको राजनीतिक अस्थिरता, अन्योल र अराजकताको क्रमबाट गुज्रिरहेको छ। फेरि एकपटक अनेक प्रकारका साम्प्रदायिक नारा र प्रतिगामी उद्देश्यहरूका निम्ति अनुकूल अवस्था प्राप्त भयो सरकारका यी अर्कमण्यता र असफताहरूले, भ्रष्टता, कमिशनखोरी र तस्करीहरूले अनुकूल वातावरण बन्यो भन्ने ठानेर कतिपय प्रतिगामी शक्तिहरू टाउको उठाउन खोजिरहेका छन् । कतिपय देशको कुभलो चाहनेहरू, नेपाली जनता र देशको एकता देख्न नचाहनेहरू, समृद्धि, सुशासन मन नपराउनेहरू, देशमा शान्ति सुव्यवस्था भएको देख्न नचाहनेहरू, नेपाललाई अनावश्यक ढंगले हिंसामा फसाउन खोज्नेहरू, नेपाली जनताका बीचमा वैमनश्यता, कलह, झगडा र द्वन्द्व मच्याउन खोज्ने तत्वहरू प्नि सक्रिय भएका छन्। उनीहरू विभिन्न ढंगले आतंककारी क्रियाकलापहरू गरिरहेका छन्। यस्तो अवस्थामा सत्तासिन गठबन्धन र गठबन्धनका नेताहरू सत्तास्वार्थ, सरकार कसरी जोगाउने, कसरी मन्त्री हुने, कसरी मन्त्री टिकाउने, अर्को मन्त्री कसरी ढालेर आफू मन्त्री बन्ने, कसले बढी कमाउने, कसले आफ्नो मान्छे पोस्ने भन्ने धन्दामा गठबन्धनका नेताहरू लागिरहेका छन्।

अर्थतन्त्र ओरालो लागेको छ। सेना, प्रहरी र कर्मचारीलाई तनखा खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ। विकासको लहर एमालेको सरकारमा जुन चलेको थियो, त्यो रोकिएको छ, ठप्प भएको छ। महाकाली करिडोर हामीले सुरू गरेका थियौं । आज त्यो अवरूद्धको स्थितिमा पुगेको छ । सेती करिडोर अवरूद्धको स्थितिमा पुगेको छ। अरू थुप्रै कामहरू जुन हामीले सुरू गरेका थियौं, ती अवरोधको स्थितिमा पुगेका छन् । विकास निर्माणका कामहरू, ठेक्कापट्टाहरू रद्द भएका छन् वा धिमा गतिमा छन् । किनभने ठेकदारले गरेको कामका लागि पनि सरकारले पैसा भुक्तानी दिन सकेको छैन।

त्यसकारणले ठेक्का रद्द भएका छन् वा स्थगित भएका छन् । कर्मचारीलाई तनखा खुवाउन गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको होइन कि गाह्रो परेर यो सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तनखा खुवाउनु परेको छ। उद्योगहरू नयाँ खोल्ने होइन कि बन्द हुँदै गएका छन् । कृषिको आधुनिकीकरणको काम जुन हामीले अगाडि लगेका थियौं, त्यो ठप्प छ। यसकारण यस देशलाई अब बढी बर्बाद हुन नदिन यस मौकालाई छोपेर यस देशमा हिंसा मच्चाउन, द्वन्द्व मच्चाउन उद्दत भएका तत्वहरूलाई अगाडि बढ्न नदिने, प्रतिगामी तत्वहरू फेरि एकपटक मरेको राजतन्त्रको चिहान खनेर, १५ वर्ष पहिले मरेको राजतन्त्रको चिहान खनेर ल्याउँछु भनेर कुदेका भुतप्रेतवादी तत्वहरू, यी सबै तत्वहरूलाई जवाफ दिन, देश पछाडि फर्कन सक्दैन, अगाडि बढ्छ, जनताको सार्वभौमसत्ता व्यक्ति र परिवारमा केन्द्रित हुन सक्दैन । तसर्थ नेपाली जनता सजग रहनु पर्दछ र अगाडि बढ्नु पर्दछ, देशलाई अगाडि बढाउनु पर्दछ भनेर।

जनतालाई भेट्न र माग सम्बोधन गर्न मध्यपहाडी यात्रा
नेकपा एमालेले महाकालीबाट मेचीको शिरभन्दा माथि चिवाभञ्ज्याङ भन्ने डाँडामा जहाँ सिक्किमसँग हाम्रो सीमाना जोडिएको छ, त्यस ठाउँसम्म हामीले तीन हप्ताको यात्रा तय गरेका छौं । यो यात्रा किन ? यसकारण कि जनताका समस्या के छन् ? बुझ्न । जनतासँग संवाद गर्न । स्थानीय साथीहरूसँग भेट्न। उहाँहरूले दिएका सुझावका आधारमा राज्यको नीति बनाउन । सञ्चारकर्मी शिक्षक, प्राध्यापक, बुद्धिजीवि, विद्यार्थी, किसान, मजदुर हेर्न र बुझ्न।

हाम्रा ऐतिहासिक धरोहरहरू, मठमन्दिरहरू, हाम्रा आस्थाका धरोहरहरूको अवस्था के छ ? त्यो हेर्न हो। कुन ठाउँको अवस्था के छ ? कहाँ विकासका कस्ता सम्भावनाहरू छन्, त्यो कुराहरू ठम्याउनका लागि र स्थलगत रूपमा जनतासम्म पुगेर जनताका मागहरू बुझ्न, संकलन गर्न र तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? त्यसका निम्ति गहिरो अध्ययन, छलफल र छानबिन गर्नका निम्ति हामीले यो अभियान सञ्चालन गरेका छौं ।

डडेलधुराका समस्या सुन्यौं, समाधान गर्छौं
आज यस ठाउँमा आइपुग्दा हामीले यहाँहरूका मागहरू सुन्यौ । अहिले भर्खरै हाम्रो माननीय प्रदेश सभा सदस्यले विषयहरू राख्नु भएको छ, कुराहरू राख्नु भएको छ । ती सबै कुरालाई अहिले म दो¥याउन चाहन्नँ । महाकाली करिडोर, सेती करिडोर, महाकाली बहुउद्देश्यीय आयोजना लगायतका आयोजना, यहाँका शिक्षाका, स्वास्थ्यका र अरू विकास निर्माणका समस्या, यहाँका विद्यालय भवन, पूर्वाधार विकास, शिक्षक दरबन्दी लगायतका समस्याहरू हामीले सुनेका छौं ।

तपाईंहरूले यहाँ उठाउनु भएका मागहरू, तपाईंहरूले गराउनु भएका ध्यानाकर्षणहरू यी कुराहरूतर्फ मेरो ध्यान गएको छ र पार्टीको ध्यान गएको छ । हामी त्यसको समाधानका लागि आवश्यक कदम चाल्ने छौं । हाम्रा हाम्रा सारा नेतृत्वहरू यहाँ आउनु भएको छ। नेतृत्वका सबै साथीहरू उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटीका सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू समेत तपाईंहरूका मागहरू बुझ्न, तपाईंहरूसँग अन्तरक्रिया गर्न, तपाईंहरूसँग संवाद गर्न, तपाईंहरूको सुख दुख बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ, त्यसका लागि हाम्रो सिंगो टिम हिँडिरहेको छ।

गठबन्धनका छेस्काले ठड्याएको सरकार
हामीले अहिले मिसन २०८४ भनेका छौं । यदि बीचमै यो सरकार (ढल्छ), म यो किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नु पर्दैन । सरकार हल्लिराखेको छ, चर्याकमर्याक भइराखेको छ । तर हामी सुदुरपश्चिमबाट पूर्वसम्म अभियानमा लागेका छौं तीन हप्ताको । यो सरकार कुनै समय आफैँ पनि ढल्न सक्छ । यो कुनै खुट्टा भएकै सरकार होइन । यो त गठबन्धनका छेस्काहरू अड्याएर टिकाएको हो । यस प्रकारको यो सरकार हो । यसको कुनै सिद्धान्त छैन, कुनै नीति छैन, कुनै योजना छैन, कुनै कार्यक्रम छैन ।

अहिले मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादी प्रचण्डका नीतिमा हिँड्न खोजेको छ तर सकिराखेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिंडिराखेको छ। आफ्नै मान्छेलाई मुद्दा लागेको छ, थुन्दिएको छ, हो होइन अदालतले भन्ला। तर, माओवादीका मान्छेहरू, माओवादीका नेताहरू २९४ पटक तस्करहरूसँग संवाद गरेको देखिन्छ तर पक्राउ पर्दैनन् । ३५ पटक संवाद गरेको देखिन्छ, पक्राउ पर्दैनन्। साढे ९ केजी सुन २ किलोमा झर्छ त्यही पनि मतलब छैन । ३५ सय केजी सुन आइसकेछ नेपालमा तस्करीको बाटोबाट बल्ल एक क्विन्टल पक्राउ पर्‍यो । कारबाही चलाउने बेलामा ६० केजीमा झ¥यो । पक्राउ परेका अपराधीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा पुर्‍याएर क्विन्टल सुन तस्करीमा पक्राउ परेकाहरूलाई परेका बेला हाजिर हुन्छु भनेर सरकार छोड्छ र भनेर पठाउँछ छिटो मान्छे भगाउ, सामान लुकाउ, छिटो गर, गइहाल भनेर पठाउँछ ।

सुन तस्कर छाड्ने, सांसद पक्रिने सरकार
एउटा मेडिकल कलेजको सञ्चालक, एउटा जननिर्वाचित सांसदको सटिर्फिकेट सक्कली हो कि नक्कली हो म जान्दिनँ तर सरकारलाई नक्कली हो कि भन्ने शंका लाग्यो । शंका लाग्ने बित्तिकै तत्काल हत्कडी लगाएर बाटैबाट समातेर थुन्न लान्छ । क्विन्टल सुनमा पक्राउ परेकाहरूलाई थपक्क छोड्छ। यो कस्तो सरकार हो ? त्यो माननीय सांसद चाहिएका बेला हाजिर हुन आउँदैन ? भाग्छ ? त्यो चाहिँ मानिलिऔं एकदमै के के न भइहाले जस्तो भ्रष्टाचार समाप्त पार्छु भनेर सरकार भन्छ । अथवा यो सरकार भ्रष्टाचारीहरूको संरक्षकको रूपमा छ, आफैं भ्रष्टाचारमा कति छ ? पछि थाहा हुँदै जाला अहिले म धेरै नभनौ । तर सरकारका वरिपरीका नजिकका मान्छेहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। त्यो देखिसक्यो। अनि सत्ताधारीहरूको प्रचार अभियान एमालेका विरूद्ध, केपी ओलीका विरूद्ध, एमालेका विभिन्न नेताहरूका विरूद्ध भ्रष्टाचारका विभिन्न नचाहिने कुराहरू उछालेर, हुँदै नभएका कुराहरू गरेर, सुन भनेर पित्तल चढायो भनेको छ, के भनेको छ, बहुलठ्ठीपूर्ण कुराहरू गरेर जनतालाई अल्मल्याउने कोसिस गरिराखेको छ। म तपाईंहरूलाई भन्न चाहन्छु, नेकपा एमाले देश बनाउने संकल्प बोकेर, हाम्रा वीर शहीदहरूको सपथ लिएर अभियानमा संकल्प बोकेर हिंडेको पार्टी हो । यो सुन तस्करी, कमिशनखोरी, भ्रष्टाचारी यस्ता कामहरूमा एमाले लाग्दैन । देश बनाउने काममा लाग्छ।

तीन वर्ष एमालेको सरकार हुँदा तपाईंहरूले देख्नु भएको थियो विकासको लहर कसरी सुरू भएको थियो । म अहिले त्यतापट्टि धेरै जान चाहन्नँ । सिलगढीमा अर्को आमसभामा पुग्नु पर्नेछ । त्यसकारण धेरै कुराहरू भनिरहन म चाहन्नँ । म यहाँहरूलाई भन्न चाहन्छु–तसर्थ तपाईंहरू ढुक्क हुनुहोस् नेकपा एमालेले प्रतिगमनतर्फ देशलाई जान दिंदैन । लोकतान्त्रिक गणतन्त्रको रक्षा नेकपा एमालेले गर्छ, तपाईंहरू ढुक्क हुनुहोस् त्यसको नेतृत्व एमालेले गर्छ । तर, हामी सबै सचेत भएर अगाडि बड्नु पर्दछ ।

२०८४ मा एमालेको बहुमतको सरकार हुनुपर्छ
यदि २०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ कि रहदैन ? देश बर्बात भइसक्यो, अझ बर्बाद हुनेछ । त्यसकारण २०८४ को निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ, नेकपा एमालेको एकल बहुमतको सरकार हुनुपर्छ । त्यसमा हामीले अरू देशभक्त शक्तिहरूलाई पनि सामेल गर्न सक्छौं तर नेकपा एमालेको बहुमत चाहिँ हुनुपर्दछ । त्यसो गर्दा एमालेको नीतिमा देश चल्छ र म भन्न चाहन्छु–१० वर्षभित्र हामी यस देशमा भोकमरी, गरिबी भन्ने कुरा हामी अन्त्य गर्दछौं । १० वर्षभित्र यस देशबाट हामी बेरोजगारी जस्ता कुराहरूलाई अन्त्य गर्दछौं । गरिबको अवस्थाबाट यस देशलाई त्यसभन्दा अवागै माथि उठाउँछौं । तसर्थ हामी सबै एकजुट हुनुपर्दछ । म आग्रह गर्न चाहन्छु, अनेक प्रकारका क्षेत्रीयतावादी, जातियतावादी, धर्मका नाममा अनेक नाममा मानिसहरूले भड्काएर हाम्रा बीचको एकता, जनताका बीचको एकता खल्बल्याउन खोज्दछन् ।

हामी जनताहरू एकजुट भएर हाम्रो देशको रक्षा, हाम्रो देशको सार्वभौमसत्ताको रक्षा, हाम्रो देशको स्वाधीनताको रक्षा, हाम्रो देशको भूमिको रक्षा, हाम्रो देशको स्वतन्त्रता, हाम्रो देशको भूमिको रक्षा हामीले एकताबद्ध भएर गर्न सक्नु पर्दछ । हाम्रो देशमा सुशासन र विकास हामीले ल्याउनु पर्दछ । हाम्रो देशमा अनुशासित लोकतन्त्र, नमुना लोकतन्त्र हामीले स्थापना गर्नु पर्दछ । त्यस कामका लागि एमाले अगाडि बढेको छ । आम नेपाली जनतालाई नेतृत्व गर्न एमाले सक्षम छ । सबैको साथ सहयोगको अपेक्षा नेकपा एमाले गर्दछ । यस अभियानको आज दोस्रो दिन मात्रै रहेको छ । हिजो र आज हामीले आम जनताको जस्तो उत्साह पायौं, सहभागिता पायौं र यहाँहरूले जसरी समर्थन जनाउनु भएको छ । यसमा हौसला प्रदान गर्नु भएको छ । यसमा निम्ति म फेरि पनि यहाँहरूलाई धेरैधेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु ।

मै पनि एमाले, देशै एमाले
आफ्ना योगदानहरूबाट आज जो साथीहरू सम्मानित हुनुभएको छ, उहाँहरूलाई धेरैधेरै बधाई भन्न चाहन्छु र उज्जवल भविष्यका लागि शुभकामना भन्न चाहन्छु । अत्यन्तै सुन्दर सै पनि एमाले मै पनि एमाले, देशै एमाले, म त एसै एमाले, उसै एमाले जस्तो गीत गाएर धुमधामसँग नाँच्नु भयो। त्यसका निम्ति भाइ बहिनीहरूलाई धेरैधेरै धन्यवाद छ। डडेल्धुरा क्षेत्र कला संस्कृतिमा अगाडि छ। यहाँका गानाहरू, यहाँका नृत्यहरू, यहाँका संस्कृतिहरूसँग नेपाल भर्खर परिचित हुँदैछ र अत्यन्तै आकर्षण बढेको छ। यो भूभाग, यो थलो सांस्कृतिक हिसाबले अत्यन्तै विविधताले सम्पन्न छ, समृद्ध छ। यहाँको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा यसलाई अब हामीले सही सदुपयोग गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउनु छ। यस काममा हामी सबैको योगदान रहोस्। यही आग्रह गर्दै यहाँहरू सबैमा धेरैधेरै शुभकामना भन्दै आफ्नो भनाई टुंग्याउँछु। धन्यवाद।

(मध्यपहाडी यात्राका क्रममा डडेलधुरामा आयोजित आमसभामा अध्यक्ष ओलीले व्यक्त गरेका विचारको सम्पादित अंश)