अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडको मेरुदण्ड हो पुष्पलाल राजमार्ग

मध्यपहाडको मेरुदण्ड हो पुष्पलाल राजमार्ग



त्रिशुली निवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरु सबैमा हार्दिक अभिवादन नमस्कार ! सबैभन्दा पहिले म तपाईंहरुको यो उत्साह, यो जोश, यो जागर यति बेलासम्म पनि धिरताका साथ पर्खिएर बस्ने अठोटका लागि म तपाईंहरुको धिरतालाई सलाम भन्न चाहन्छु, तपाईंको उत्साहलाई सलाम भन्न चाहन्छु।

गीतबाट थुप्रो कुरा आइसक्यो, हसाउने कुराबाट थुप्रो कुरा आइसक्यो । नआएका कुराहरु बद्री मैनालीजीले यस जिल्लाको विकासका लागि आधारहरु भनेर जे प्रस्तुत गर्नु भयो, त्यो आइसक्यो । अब मैले धेरै कुरा भनिरहनु परेन । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी अर्थात् पुष्पलाल राजमार्गको बाटोबाट मध्यपहाडका जनतासँग भेटघाट र संवाद गर्दै, उहाँहरुसँग अन्तरक्रिया गर्दै, किसान, शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, उद्यमी, व्यवसायी, कलाकार, नाट्यकर्मी, नृत्यकार, गायक, गायिका सबैसँग भेट्दै देशका विभिन्न समस्याका बारेमा, उहाँहरुले भोगिरहनु भएका विभिन्न समस्याका बारेमा र उहाँहरुको सुझाव के छ ? त्यसको बारेमा सल्लाह र सुझाव लिंदै हामी दशौ दिनको बेलुका आज यहाँ आइपुगेका छौं । म यो बाटो हिंडेको थिइनँ । राजमार्ग भनेर राजमार्गको जस्तो बाटो होला भनेर हिसाब गरियो, भलै राजमार्ग त गिनिज बुकमा लेख्नु पर्ने जस्तो दुनियाँमा कहीं नभएको राजमार्ग जस्तो । त्यसकारण यो राजमार्ग बनाउनु पर्ने कुरामा हाम्रो ध्यानमा आएको छ भन्ने कुरा साथीहरुले बुझ्नु भएको छ । यो राजमार्ग अभिलम्व स्तरोन्ती गर्नुप¥यो । जनतालाई यो कष्ट मात्रै होइन, यो राजमार्गको निर्माण तीब्र गतिमा हुन नसक्दा, यस हालतमा राजमार्ग हुँदा यहाँको बन्दव्यापार, उद्योग, बजार, आर्थिक क्रियाकलापहरु अनेक कुरालाई प्रतिकुल असर पारेको छ । बिरामी भयो भने उपचार गर्न जाँदा केही किलोमिटर बाटो छ तर घन्टौ लाग्छ । त्यस्तो अवस्था अब रहनु हुँदैन । यस अवस्थाका निम्ति हामीले यो राजमार्गको निर्माण सुरुवात गरेका होइनौं, यसको परिकल्पना गरेका होइनौ, यसलाई अगाडि बढाएका होइनौं । यो जनतालाई सुविधा पु¥याउन, यहाँको मध्यपहाडको जीवनको मेरुदण्डको यस राजमार्गलाई हामीले बनाएका हौं ।

हाम्रो ध्यान तपाईंहरुलाई थाहा छ विकासका कुरामा मध्यपहाडी राजमार्ग होस् कि तराईको सीमानै सीमान हुलाकी राजमार्ग होस् कि तराइको उत्तरी भेग चुरे क्षेत्रबाट मदन भण्डारी राजमार्ग होस् कि अथवा विभिन्न नदी करिडोरहरु त्यो पनि हामीले नै गरेका हौं । चाहे त्रिशुली करिडोर होस्, चाहे बुढीगण्डकी करिडोर होस्, चाहे मस्र्याङ्दी करिडोर होस्, कालीगण्डकी करिडोर होस्, सेती करिडोर होस् वा अरु करिडोरहरु होउन् । यी नदी किनारका बाटाहरु बनाउने हामीले नै अगाडि बढाएका हौ । नेपाललाई कहीं पनि अब दुर्गम रहन दिनु हुँदैन भनेर हामीले नै भनेका हौ । त्यसकारण बाटाघाटा, यातायातका सुविधाहरु, रेल, हवाइजहाज आदि इत्यादीका सम्पर्क सम्बन्धहरु, विद्युतीकरण, सञ्चार क्षेत्र यी सबैको विकास विस्तार तीब्र गतिमा हुनुपर्दछ । जसबाट हामी कृषिको आधुनिकीकरण गर्न सक्छौ । त्यसलाई प्रविधिको प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । अब कृषिलाई र अरु व्यवसायलाई पनि हिजोको जस्तो निर्वाहमुखी बनाउने होइन, विकासमुखी, समृद्धितर्फको यात्रा, समृद्ध नेपाल सुखी नेपाली बनाउने कामका लागि आधुनिकतातर्फको यात्रामा सहयोगी हुनेगरी हामीले नयाँ ढंगले हरेक क्षेत्रको अर्थतन्त्र अगाडि बढाउनु पर्छ । यही सन्देश लिएर हामी गएको १४ गते बिहान साढे ८ बजे महाकाली नदीको झुलाघाट सीमानाबाट प्रारम्भ गरेको आज दशौ दिन यहाँ आइपुगेका छौं । हाम्रो यात्रा अझै ९/१० दिनको छ । हामी अहिलेसम्म यहाँ आइपुग्दासम्म बाटाभरी राती ९/१० अबेलासम्म पनि बाटाबाटामा दाजुभाइ दिदीबहिनीहरु पर्खिएर बस्नु भएको थियो । हामीलाई स्नेह दिनु भएको थियो, हाम्रो यात्राको सफलताको कामना गर्नु भएको थियो । यात्राले बोकेको उद्देश्य समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार बनाउन सक्नुस् भन्ने शुभकामना र शुभआशिष आमजनताले दिनुभएको थियो । त्यसकारण हामीहरु पनि उत्साहित ढंगले अगाडि बढिरहेका छौ । हाम्रो यात्रा पूर्णरुपमा सफल हुनेछ । यस यात्राले लिएको उद्देश्य, अढाइ वर्ष अगाडि सरकारबाट देशी विदेशी अनेक प्रतिक्रियावादी शक्ति मिलेर जालझेल, अनेक षडयन्त्र गरेर एमालेलाई सरकारबाट हटाएपछि आज देशको राजनीति कुन हालतमा पुगेको छ ? आज देशको अर्थतन्त्र कुन हालतमा पुगेको छ ? राजनीतिमा अस्थिरता, अन्योल, अराजकता व्याप्त छ । जे पनि गर्न पाइने, जस्तो पनि गर्न पाइने अवस्था व्याप्त छ । अर्कातिर देशको अर्थतन्त्र तपाईंहरुले हेरिरहनु भएको होला सञ्चार माध्यमहरुमा एनसेल भन्ने कम्पनी मैले सुने अनुसार सन् २०२४ लाग्नै आटिसक्यो, हामी अन्तिम महिनामा छौं २०२३, ९ डिसेम्बर हो आज । सन् २०२७ मा त त्यो कम्पनी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने हस्ताक्षर छ, सम्झौता छ । त्यो छल्नका लागि एउटालाई बेचेको नाटक मञ्चन गर्दछ । कत्रो अपराध ! दोस्रो कुरा खरवौको कारोवार अरवमा गर्ने अत्यन्तै अपराधपूर्ण काम भएको छ । यो सुन्नमा आएको छ, मैले यसको राम्ररी अध्ययन गर्न पाएको छैन किनभने हामी यात्रामा छौ । यसै बीचमा यो कुरा आएको छ । तर म के भन्न चाहन्छु भने–सरकारको ध्यानआकृष्ट गर्न चाहन्छु नेकपा एमालेको तर्फबाट र नेपाली जनताको तर्फबाट कि देशलाई कंगाल बनाएर केही मानिसहरुले ढुकुटी भर्ने यो कमिशनतन्त्रको खेल बन्द गर । अब नेपाली जनता यो सुन्न र सहन तयार छैनन् । यो कुरा हुन सक्दैन । तसर्थ यस सम्बन्धमा कतिपय सांसदहरुले कुरा उठाइरहनु भएको छ, सञ्चार माध्यममा कुरा उठिरहेको छ । सरकार चित्त बुझ्दो जवाफ नदिएर चुप्प लागेर बसेको छ । यस्तो अवस्थालाई तोड्नु पर्नेछ । यस्ता भ्रष्टाचारका काण्ड सय किलो आउँछ, ६० किलो मात्रै बाँकी रहन्छ । साढे ९ केजी पक्राउ पर्छ, अन्तिममा दुई केजी फेला पर्छ । ३५ क्विन्टल सुन आइसकेछ पहिले नै । झुक्किएर एक क्विन्टल पक्राउ प¥यो, त्यो पनि ६० किलोमा झ¥यो तौलिने बेलामा । यस प्रकारको तस्करीतन्त्र सरकारको संलग्नताबिना एयरपोर्टबाट ३५ क्विन्टल सुन छिर्छ कहीं ? क्विन्टलका क्विन्टल छिर्छ कहीं ? तपाईं हामी गयौं भने एक्सरे मेसिनदेखि अरु कुरा छामछुम के गर्दैन ? केही पनि त्यहाँबाट छिर्न सक्दैन । तर त्यो सरकारको मिलेमत्तो मात्रै होइन, यो सरकारी क्रियाकलापको अंग बनाएर छिराइएको छ । त्यहाँका कर्मचारीहरुलाई संलग्न गराएर गरिएको छ । यति चुपचाप, यति गुपचुप राखिएको छ, तर यो काण्ड गुपचुप राख्न दिइने छैन भन्ने कुरा म फेरि पनि सरकारलाई भन्न चाहन्छु कान खोलेर सुनोस् । यो निकम्मा सरकार राष्ट्रियताको सम्बन्धमा बोल्न नसक्ने सरकार, हामीले उत्तरतिरबाट बाटो खोल्यौ, बीआरआइ प्रोजेक्ट जहाँ जहाँबाट नेपालका लागि फाइदा हुन्छ, त्यहाँबाट सस्तो ब्याजदरमा ऋण लिने र नेपालको विकास गर्ने हामीले भन्यौ तर यो सरकार त्यो भन्ने आँट नै गर्दैन । हामीले पोखरा एयरपोर्ट बनायौं, यो सरकार एयरपोर्ट चलाउने आँट गर्न सक्दैन । हामीले भैरहवा एयरपोर्ट बनायौ, त्यो चलाउने आँट गर्न सक्दैन । कसका डरले कसका डरले ! यसले एयरपोर्ट बनाउन र चलाउन सक्दैन । यस्तो काम नलाग्ने हुतिहारा सरकार किन बस्छ शासनमा ? देशको हितको पक्षमा बोल्न सक्दैन, आफ्नो स्वाधीनता, आफ्नो स्वतन्त्रता, आफ्नो स्वाभिमानको रक्षा गर्न सक्दैन, राष्ट्रिय हितको रक्षा गर्न सक्दैन, अनि लुते भुसिया कुकुर जस्तो टाङ मुनि पुच्छर हालेर कुईकुई गर्छ । यस्ता पाराले सरकार चल्छ ? त्यसकारण यो सरकार अब देशका लागि अफाप सिद्ध भइसक्यो । अब यो सरकारलाई सरकारमा बस्ने कुनै अधिकार नै छैन । नैतिक अधिकार के भन्नु यसको, नैतिकता नै छैन । यो बनाएको पनि वास्तवमा नेपाली जनताले भोट दिएको जस्तो देखियो । दुई तिहाई भएको एमालेको केही तत्वहरुले त्यो एमालेको सरकार ढाल्दिए । एमाले पार्टी फुटाए र कांग्रेसका पाउमा सरकार बुझाउन गए । राम्रै गरेको भए त ठीक थियो नि जो सरकारमा जाओस्, देशलाई राम्रो हुन प¥यो, जनतालाई राम्रो हुनु प¥यो । तर, यिनीहरुले राम्रो गर्न सकेनन् । हामीले बनाउन थालेका बाटा बीचमै रोकिए, हामीले बनाउन थालेका अस्पताल बीचमै रोकिए, हामीले बनाउन थालेका पुलहरु बीचमै रोकिए, अरु आयोजना बीचमै रोकिए र सबै आर्थिक क्रियाकलाप ठप्प मात्रै भएन, ओरालो लाग्यो । अब यस स्थितिबाट देशलाई अगाडि बढिरहन सक्दैन । यस कुरालाई नेपाली जनताले बुझेको हामीले यस अभियानका दौरानमा पायौ । त्यसैकारण हाम्रो अभियानलाई, यो यात्रालाई पश्चिमदेखि पुर्वसम्मको यात्रालाई यति उत्साहका साथ जस्तो त्रिशुलीमा र विदुरमा तपाईंहरुले गर्नु भएको छ, त्यस्तै गरेर नै हामीले देशभरी अत्यन्तै उत्साहका साथ पायौ । तपाईंहरु कुनै मेला भर्न, रामरमिता हुन्छ भनेर यति अवेलासम्म १० बजे नागिसक्दा पनि तपाईंहरुको यो उत्साह सानो कुरा होइन । यो उत्साह तपाईंहरुले कायम राखिसक्नु भएको छ । अर्थात यो देशले अब ओरालो लाग्ने गतिलाई रोकेर सकारात्मक दिशामा फर्काउनु प¥यो । यस दिशामा नेपाली जनता सचेत र संगठित हुनु प¥यो । हामीले अन्तिम रुपमा मिसन ०८४ भनेका छौ । अहिलेको सत्ताको हेरफेर हिसाब आदि इत्यादि यसले धेरै केही गर्न सक्दैन, धेरै बिग्रिन दिंदैन केही सुधार त गर्छ, यसको विकल्पमा सरकार बन्यो भने अलिकति बिग्रिने कुरालाई रोक्छ तर एमालेको एकल सरकार नभइ एमालेले आफ्ना नीतिहरु लागू गर्न सक्दैन । हरेक कुरामा त्यहाँ सम्झौता गर्नु पर्ने हुन्छ । त्यसकारण अब यस देशलाई चाहिएको कुरा, यस देशलाई चाहिएको एउटा बलियो राष्ट्रिय शक्ति, बलियो राष्ट्रिय शक्तिको सरकार त्यो भनेको नेकपा एमालेको सरकार हो । अरु कसैले यो देशको समस्या समाधान गर्न सक्दैन भन्ने कुरा स्पस्ट छ ।
हामी भोलि तपाईंहरुको शुभकामना र सद्भाव लिएर यहाँबाट अगाडि बढ्ने छौं । हामीले जनताको अत्यन्तै उत्साहपूर्ण साथ, समर्थन, सहयोग पाएका छौं र यहाँ पनि पाएका छौं । जुन स्वागत, जुन माया ममता हामी यहाँ आइपुग्दा हाम्रो टोलीलाई यहाँहरुले देखाउनु भयो, त्यसप्रति म यहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, । धेरै आभार व्यक्त गर्न चाहन्छु । यहाँहरुको सबैको स्वास्थ्य राम्रो होस्, यहाँहरुको सुख समृद्धि सफलताको कामना गर्दै सिंगो हाम्रो यात्रा टोलीको तर्फबाट म सबैमा धन्यवाद भन्न चाहन्छु धन्यवाद ।

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी यात्राका क्रममा २३ मंसिर २०८० मा नुवाकोटको विदुरमा आयोजित आमसभालाई गर्नुभएको सम्बोधनको सम्पादित अंश)

Skip This