त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन्।
बुधबार दिउँसो भन्सार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
भन्सार घेराउका क्रममा प्रहरीले धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये रञ्जु घाइते हुनु भएको छ। उहाँको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ।
आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ।
प्रतिक्रिया