अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ : उपाध्यक्ष पौडेल

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ : उपाध्यक्ष पौडेल


रुपन्देही–नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित रहेको बताउनुभएको छ ।  

शनिवार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशनको उद्घाटन गर्दै उहाँले जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको आरोप लगाउनुभयो ।  

उपाध्यक्ष पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने बताउनुभयो । ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ,’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीँ अनुसार नयाँ युवा पुस्ताले अघि बढ्नुपर्नेमा जोड पनि दिनुभयो । उहाँले समाजमा पठन संस्कृतिको विकास र विस्तार गर्न जरुरी रहेको बताउनु भयो । 

उपाध्यक्ष पौडेलले पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन हुने आशा व्यक्त गर्नुभयो । उहाँले महासंघद्वारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटन गर्नुभयो ।

महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाएको बताउनु भयो । उहाँले राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावकविहीनजस्तै भएको बताउँदै यसलाई तत्काल जारी गर्न आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष रामकृष्ण चापागाईँले महासंघले पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन गर्न आफू नेतृत्वमा नरहे पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।