अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा चुनाव: माघ २ देखि आचारसंहिता लागू हुने

राष्ट्रिय सभा चुनाव: माघ २ देखि आचारसंहिता लागू हुने


काठमाडौं-निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने भएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २ गतेदेखि आचारसंहिता लागू हुने बताउनु भयो। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्न लागिएको हो।

राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ। जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्‍यवस्था लागू गर्न लागेको हो।

निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि सुरू हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि सुरू हुन्छ। त्यस अवधिमा निर्वाचनको प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइन्न। 

मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ।

निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ। आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ। 

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्‍ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि आयोग प्रवक्ता पौडेलले बताउनु भयो ।