अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, के–के गर्न पाइँदैन ?

राष्ट्रियसभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, के–के गर्न पाइँदैन ?


काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । आचारसंहिता माघ १२ गतेसम्म जारी रहने भएको हो । 

 निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भएपछि अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन । 

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा  विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ । 

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन । 

आचारसंहिता अनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,  सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन समेत नपाउने व्यवस्था छ । 

आयोगका अनुसार निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न  नहुने तथा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न पाइनेछैन । 

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड ९क०, खण्ड ९क १० र खण्ड ९छ० दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ । 

राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि ११ माघमा निर्वाचन हुँदैछ ।