अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव: देश विकास गर्न नसके राजीनामा दिनुस्

प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव: देश विकास गर्न नसके राजीनामा दिनुस्


काठमाडौँ-नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिनुभएको छ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले केही दिनअघि आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताउनु भयो ।

सुवालले उहाँलाई सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो। उहाँले अघिल्ला सरकारहरूले गरे पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनुभयो। राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउनु भयो।

जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न सुवालले चेतावनी दिनुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको आरोप समेत उहाँको छ।

सुवालले भन्नुभयो, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै छैन। अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो। अघिल्ला सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि। प्रधानमन्त्री भएर भाग्न पाइन्छ। यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन्। सरकारले एक वर्षमा २ हजार ३१८ जना नेपाली डाक्टर विदेश पठायो। तपाईंको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने। परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे। हाम्रा प्रधानमन्त्री र मन्त्रीको कस्तो लाजमर्दो काम।’

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताउनु भयो। उहाँले ८ पटकसम्म उद्घाटन भएको भन्दै एकपटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन वितरण गर्न सुझाव दिनुभयो।