अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ: शंकर पोखरेल

समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ: शंकर पोखरेल


सिन्धुपाल्चोक-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले वर्तमान गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देश विकासको नेतृत्व एमालेबाट मात्र सम्भव रहको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ।’

गठबन्धन सरकारको कारण देश संकटमा परेको महासचिव पोखरेलले बताउनु भयो । उहाँले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताउनुभयो। यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको भनाइ छ।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनु भयो। नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गर्नुभयो ।

माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गर्नुभएको उहाँले बताउनुभयो । ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो’, उहाँले भन्नुभयो।

राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले सुतेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । ‘अब राजनीतिक क्रान्ति सफल भयो भनेर आराम गरेर सुतेर बस्ने बेला हो त ? अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले नेकपा एमालेका चुनौती के हुन् र अबको बाटो के हो भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले यी सबै कुरा क्लियर गरेको पोखरेलले प्रष्ट पार्नुभयो । पार्टीमा अहिले विचारका, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नभएको बताउनुभयो । ‘त्यसमा हामी एक ठाउँमा छौँ’, उहाँले भन्नुभयो।

यति हुँदाहुँदै पनि कतिपय नेता कार्यकर्ताको बीचमा अविश्वास यथावत् रहेको उहाँले बताउनुभयो। आजको राजनीतिको मूल समस्या दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको पोखरेलले बताउनुभयो। त्यो केही समस्या माधव नेपाल र झलनाथ खनालले लिएर गएका पनि अझै समस्या पूर्ण रूपमा नसकिएको उहाँको भनाइ छ।

वैचारिक राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने उहाँले बताउनुभयो। कठिन संघर्षबाट आएका मानिसहरू पनि अवसरवादी बन्छन् भन्ने कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो। बाली सपार्न गोडमेल र मलजल गर्नु परेजस्तै क्रान्तिकारितालाई जोगाइ राख्नलाई पनि गोडमेल र मलजल आवश्यक हुने पोखरेलले बताउनुभयो। ‘समाज बदल्नु छ भने चेतनाको कुरा गर्नुपर्दछ, समाज बदल्नु छैन भने जे छ त्यही कुरा गरे हुन्छ’, उहाँले भन्नुभयो।

पोखरेलले पार्टीका नेताहरूले नै समाजमा नयाँ विचार ल्याउनु पर्ने बताउनुभयो । त्यसैले पार्टी नेताले सधैँ नयाँ विचार दिनु पर्नेमा उहाँले जोड दिनुभयो। पोखरेल सिद्धान्त जीवन्त हुनु पर्ने बताउँदै हरेक सिद्धान्त जीवनसँग जोडिनु पर्ने बताउनुभयो।
सबैभन्दा क्रान्तिकारी भनिएका मोहनविक्रम सिंह आज श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने अवस्थामा पुगेको भन्दै पोखरेलले आलोचना गर्नुभयो। आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेका भन्दै पोखरेलले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको हो भन्दै प्रश्न गर्नुभयो।

नेकपा एमाले जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी भएको बताउँदै पोखरेलले जनताको बहुदलीय जनवाद नेकपा एमाले मात्र पेवा नभएको प्रष्ट पार्नुभयो। जनताको बहुदलीय जनवाद नेपाली क्रान्ति र समाज परिवर्तनको विज्ञान भएको पोखरेलले बताउनुभयो।